महायज्ञमा निरहुआको शो हेर्न उर्लियो मानवसागर

महायज्ञमा निरहुआको शो हेर्न उर्लियो मानवसागर


■ आरके श्रीवास्तव, रौतहट

रौतहटको मौलापुर नगरपालिकास्थित पतौरामा चलिरहेको मधानी महायज्ञमा मंगलबार राति भोजपुरी सुपर स्टार दिनेशलाल यादव निरहुआको प्रस्तुति हेर्न मानवसागर नै उर्लियो । सांस्कृतिक कार्यक्रममा नायिका आम्रपाली दुब्बे, गायक सुनिल पण्डित, गायिका इन्दु सोनालीसहितका भोजपुरी कलाकारहरूले दर्शकहरूलाई भरपुर मनोरञ्जन गराएका थिए ।

पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ २०७६ आयोजनको अवसरमा भोजपुरी तथा नेपाली कलाकारहरू आ–आफ्नो कला प्रस्तुत गर्न यहाँ पुगेका हुन् । मसहुर भोजपुरी कलाकार निरहुआ र आम्रपालीसहितका कलाकारहरूलाई प्रदेश सांसद कुन्दन कुशवाहाले फुलमाला लगाई स्टेजमा स्वागत गरेका थिए ।

निरहुआ नाईट शो हेर्न लाखौंको संख्यामा मानिसहरू आएको आयोजकले जनाएको हो । मंगलबार दिउँसो नेपालका सम्मानीय राष्ट्रपति विधादेवी भण्डारी र प्रदेश नंम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहित संघिय सांसद, प्रदेश सांसद, पालिका प्रमुखहरू, उपप्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरूसहित हजारौँको संख्यामा दर्शकको सहभागिता रहेको थियोे ।

महायज्ञलाई राष्ट्रपति भण्डारी र मुख्यमन्त्री राउतले सम्बोधन गरेका थिए । बितेको फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरु निखिल उप्रेती, केकी अधिकारीसहितका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका महायज्ञको सहआयोजक निर्विज प्रोडक्सनका विजय यादव निर्विजले बताए ।