अष्ट्रेलियामा दुई नेपालीको निधन

अष्ट्रेलियामा दुई नेपालीको निधन


■ राजन घिमिरे, सिड्नी

अष्ट्रेलियामा अध्ययनरत नेपाली चेलीको मृत्यू भएको छ । अध्ययनका लागि दुई वर्षअघि मात्रै अष्ट्रेलिया आएकी ललितपुर सानागाउँकी रमिला महर्जनको असामयिक मृत्यु भएको हो ।

अष्ट्रेलिया आएपछि रमिलालाई ब्रेन ट्युमरको समस्या देखिएको थियो । त्यसको उपचार गराउने क्रममा उनको मृत्यू भएको बताइएको छ। अष्ट्रेलियामा श्रीमान् संजय महर्जनसँगै रहेकी रमिलाको दाहसंस्कार अष्ट्रेलियामै सोमबार (५ फागुन) गरिएको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिका सानागाउँमा रहेको अनन्त इङ्गलिस स्कूलबाट एसएलसी गरेकी रमिला बिबिएस सकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया आएकी थिइन् ।

यसैगरी, सिड्नीको समुन्द्रमा एक नेपाली युवक मृत भेटिएका छन् । ३२ वर्षिय युवक अमित सुनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलबार दिउँसो फेसा परेको हो ।

श्रीमान् आइतबारदेखि सम्पर्कविहीन भएको भन्दै अमितकी श्रीमतीले प्रहरीमा उजुरी गरेकी थिइन् । प्रहरीले मोबाइल लोकेसनको आधारमा ती युवकको शव पत्ता लगाएको हो ।

सन् २००७ मा विद्यार्थीका रुपमा अष्ट्रेलिया आएका उनी बरूउडमा बस्थे । पिआरका लिन सजिलो होस् भनेर गत वर्ष उनले श्रीमतीलाई पढ्का लागि तास्मानिया पठाएका थिए । उनी पनि तास्मानिया जाने तरखरमै थिए ।खसिड्नीको ग्रानभिल फ्रेण्डस र जेन्टजर्ज फुटबल क्लबबाट अमित फुटबलसमेत खेल्थे ।

उनको दाह संस्कारका लागि एनआरएनले सहायता उपलब्ध गराउने भएको छ भने उनले खेलेका दुई फुटबल क्लबले पनि सहयोग गर्ने बताइएको छ ।