काम गर्न दिऔँ खुट्टा नतानौँ

काम गर्न दिऔँ खुट्टा नतानौँ


हाम्रा राजनीतिज्ञहरू अरूलाई कुर्सीमा बसेको देख्नै नसक्ने रोगले ग्रसित भएका छन् । आफू कुर्सीमा बस्दा काम गर्न नसक्ने अरूलाई पनि छिर्के हान्ने, पासो थाप्ने र गिराउने बानरप्रवृत्ति देख्दा जनता पनि बाघ भइसकेका छन् । हुँदाहुँदै राजनीत्रि्रति जनताको आस्था गिर्दै गएको छ । यो क्रम बढ्दै गयो भने कुनै पनि राजनीतिक दल वा नेतालाई जनताले भोट दिन जाने छैनन् ।
भर्खरै जनताको आशा-अभिलाषालाई बोकेर शान्तिप्रक्रिया पूरा गर्दै नयाँ संविधान बनाउन जोश-जाँगरसाथ आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मन्त्रिमण्डलको आकार पूरा गर्न नपाउँदै आफ्नै पार्टीले छिर्के हान्न थाल्यो । अरू राजनीतिक दलहरू पनि पासो थाप्दै छन् । संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका रचनात्मक विरोधको हुन्छ । सरकारले बाटो बिराउन लाग्यो भने बाटो देखाउन सहयोग गरिन्छ, तर हामीकहाँ जस्तो काम गर्न खोजे पनि बाटो छेकेर अवरोध पुर्‍याउनु प्रतिपक्षको धर्म सम्झने गरिएको छ । यो कस्तो धर्म हो प्रतिपक्षको ?
यद्यपि यो रोग नेपालमा अहिले मात्र देखिएको होइन, धेरै पहिलादेखिको हो । जो सरकारमा जान्छ त्यसलाई काम गर्नै नदिने कसरी हुन्छ त्यसलाई खुट्टा तान्ने र गिराउने नभएको होइन । अहिले माओवादी पार्टीको सरकार छ, यही पार्टीका गुरुबाबुहरूले पूर्णबहुमतीय माधव नेपालको सरकारलाई उसको जन्मकालदेखि नै काङ्ग्रेस र भारतको कठपुतली नाम राख्दै कामै गर्न दिएनन् । पछि झलनाथ खनाल प्रधानमन्त्री बन्दा माओवादी नेता प्रचण्डको मात्र कठपुतलीको संज्ञा दिँदै माधव नेपालले भन्ने मौका पाए- मलाई छिमेकी ठूलो देशको कठपुतलीको संज्ञा दिइएको थियो तर झलनाथ एकजनाको कठपुतली बने भन्दै झलनाथभन्दा आफ्नो इज्जत बढेको सम्झे । अहिले त्यही दोष अर्थात् भारतको इसारामा बाबुराम प्रधानमन्त्री बनेका हुन् भनी आफ्नै पार्टीले दोष लगाइरहेको छ । यहाँ मैले भन्न खोजेको कुरा के हो भने कसैलाई वा छिमेकी देशलाई दोष दिँदै म केही गरेर देखाउँछु भन्ने भिजन लिई आउने वर्तमान प्रधानमन्त्रीलाई बाटो छेक्न खोज्नु यो देशको निम्ति दुर्भाग्य हो र आफ्नो बानरेप्रवृत्तिको परिचय दिनु हो ।
स्वर्गीय नेता गिरिजाप्रसादपछि नेपाली काङ्ग्रेसले पनि राम्रो नेतृत्व पाउन सकेन । अहिले काङ्ग्रेस र एमालेको असङ्गति तर्कले जनतालाई दुःखी बनाएको छ । शान्तिप्रक्रिया र संविधान सँगै लिएर जाऊँ भन्ने प्रधानमन्त्रीको आग्रहलाई रोक्नुपर्ने, विरोध गर्नुपर्ने कुनै तार्किक प्रश्नै होइन बरु शान्तिप्रक्रियाका मोडेल आदिमा मतभिन्नताको प्रश्नहरू राख्न सकिन्छ, त्यस्तै दीर्घकालीन र नेपाललाई सुहाउँदो संविधान कस्तो हुनुपर्छ त्यसतर्फ बहस हुन सक्छ ।
निश्चय नै यो देशमा शान्तिप्रक्रिया र्सार्थक निष्कर्षमा पुर्‍याउन र संविधान तयार गर्न सबै दलको सहयोग र सक्रियता अनिवार्य चाहिन्छ । एक्लै प्रधानमनत्रीले अर्थात् बाबुराम भट्टराईले केही गर्न सक्नुहुन्न । यो कुरा सबैलाई थाहा छ । तर, ‘उहाँले म बढी लचकता अपनाएर मार्ग १४ गते भित्र शान्तिप्रक्रिया र संविधानको मस्यौदा तयार पार्छुलाई सहयोग दिनुहोस् सबैको सहयोगबिना म एक्लैले केही गर्न सक्दिनँ त्यो अवस्थामा मैले प्रधानमन्त्रीको कुर्सीमा बसिरहन उपयुक्त मान्दिनँ म छोडिदिन्छु’ भन्दा पनि हामीलाई च्यालेञ्ज दियो भनी प्रतिपक्षले अर्को बहाना (घुर्की) तेस्याइरहनु राम्रो होइन ।
यथार्थमा यसपटक शान्तिप्रक्रिया र संविधान बन्दैन भने यसपछि कहिल्यै बन्दैन अनि देश ठूलै सङ्कटमा पर्छ । आन्दोलनकारी दलका सबै सहयात्री चढेको साझा डुङ्गा डुब्यो भने कुनै दल वा व्यक्ति बाँच्न सक्छन् भन्नु पनि र्व्यर्थ हुन्छ । यिनै कुरा हुन् भट्टराईजीले भन्नुभएको । यसलाई च्यालेन्ज सम्झेर आफू प्रधानमन्त्री नभए देश डुब्छ भन्यो आदि शब्द-शब्दको अपव्याख्या गरी पासो थाप्नु प्रतिपक्षहरूको धर्म हुँदै होइन । शान्तिप्रक्रियाको मुख्य पाटो -पक्ष) माओवादी नै हो भन्ने कुरा सबैलाई थाहा छ । अहिले उसैको कार्यकाल त्यसमा पनि केही सफ्ट लाइनका भनेर चिनिने बाबुराम भट्टराई जसले आफैं पार्टीबाट अनेकौँ अपमान र अड्चन सहेर केही गर्छु सकिनँ भने कुर्सी छोड्छु भन्दा कतैबाट सहयोग हुँदैन भने अरू दलको सरकार बन्दा पनि सम्भव हुने देखिँदैन । केवल प्रधानमन्त्रीको कुर्सीमा बस्न र्‍याल चुहाउँदै गरिने खोँचेथपाइ मात्र हुन्छ ।
यतिखेर कुनै पनि दलले आफूलाई हामी शान्तिप्रक्रिया र नयाँ संविधानविरोधी होइनौँ भनेर चिनाउन चाहन्छन् भने आफूले पनि शान्तिप्रक्रियाका मोडालिटी-खाका पेस गर्नुपर्‍यो र सकेसम्मको लचकता अपनाई माओवादीसँग पनि माग्नुपर्‍यो अनि थाहा हुन्छ आफ्नो कुरा भए मात्र मिल्ने हुन् कि अझै पनि छलकपट गर्दै धूर्त नियत राखी विद्रोह अथवा सत्ताकब्जाको धम्की दिने हुन् जनताले पनि बुझन पाउँछन् । अहिलेसम्म कुनै पक्षबाट पनि खाका पेस भएको छैन जनताले समीक्षा गर्न पाओस् । एउटा कुरा भन्नैपर्ने हुन्छ यसअघि माओवादीसँग भएका सम्झौता समयमा पालन नहुनु सत्ताकब्जाको खेल चलिरहनुले आपसमा यति ठूलो खाडल बन्यो त्यो पनि धेरै कठिन भयो । यसपटक भट्टराईजीप्रति जनता र अरू दलको पनि अलि बढी विश्वास भएकोले पुराना कुरा बिर्सेर खाडलबाट निस्कौँ । यसपटक पनि केही गर्न सकेनौँ भने त्यो मिलनको बिन्दु फेला पार्न धेरै टाढासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ र जुनसुकै दलको सरकार बने पनि तीनमहिने हुन्छ । अन्ततः देश भड्खालोमा पर्छ ।
कहिलेकाहीँ माओवादीको विगतलाई सम्झँदा दुःख पनि लाग्छ । ०६२/०६३ को जनआन्दोलनबाट संसद् पुनर्स्थापना भयो । गणतन्त्र घोषणा गर्दै संविधानसभाको चुनावपछि स्व. गिरिजाप्रसाद कोइराला र माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड) को बीचमा भएको सहमति एवम् समझदारीलाई माओवादीले नलत्याएको भए सायद आजसम्म प्रचण्ड प्रधानमन्त्री रहिरहनुहुन्थ्यो र शान्ति तथा संविधान बनिसक्थ्यो । दुर्भाग्य, माओवादीमा ठूलो पार्टीको मातले मास र माइक पाएपछि नेता प्रचण्ड यत्रतत्र खनिनुको आज यो दुर्दशा हामी सबैले भाग्नुपरेको छ ।
हुन त माओवादी नेता आफ्नै कारणले जनताबाट अप्रिय बन्दै गएकाले आज दोस्रो नेता डा. बाबुराम भट्टराईप्रति जनआस्था उर्लेर आयो, उहाँलाई दाहिने चन्द्रमाको पनि आशीर्वाद थियो होला । यदि अप्रत्यक्ष छिर्के हानिएन भने बाबुरामजीलाई अहिले प्रचण्डजीको सहयोग प्राप्त छ । यो मौका या ठूलो साहस र सकेसम्मको लचकता देखाएर माओवादी नेताहरूले जनश्रेय गुमाउनु हुनेछैन । फेरि पनि माओवादीले एक्लै सङ्घीयताको राज्य प्रदेश घोषणा गरेर एक्लिएजस्तो शान्तिप्रक्रिया पनि एक्लै घोषणा गर्छुन्ने उद्दण्डता नदेखाइयोस्, यही शुभकामना छ ।
– मुक्तिनाथ खनाल