कोरोनाबाट वुहानको उचाङ अस्पतालका निर्देशकको मृत्यु

कोरोनाबाट वुहानको उचाङ अस्पतालका निर्देशकको मृत्यु


कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको चीनको वुहानस्थित अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोबिड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार नौ सयको मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले मृत्यु हुने चिकित्सक वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ । उनलाई बचाउन भरमग्दुर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाइ छ ।

उचाङ अस्पतालका निर्देशक लिउसहित सात स्वास्थ्यकर्मीको मृत्यु, अन्य एक हजार ७ सय १६ जना स्वास्थ्यकर्मी संक्रमित, अन्य एक हजार नौ सयको मृत्यु, ७२ हजारभन्दा बढी संक्रमित

उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यही प्राणघातक जीवाणुका कारण वुहानमा कम्तीमा ६ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७ सय १६ जना संक्रमित भएका छन् ।

यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो ।

उहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ ।
रासस–एएफपी