नेपालमा पहिलो पटक मसल मेनिया बडी बिल्डिङ हुने

नेपालमा पहिलो पटक मसल मेनिया बडी बिल्डिङ हुने


नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । अमेरिकाको फ्रेन्च चाइजबाट मान्यता प्राप्त प्रतियोगिताको आयोजना खरेल अर्गनाइजेसनले गर्नेछ भने प्रतियोगिता आउँदो वर्षको असोज १० गते राष्ट्रिय सभागृहमा आयोजना हुने बताइएको छ ।

मसल मेनियाको सुरु सन् १९९१ मा भएको हो । शारीरिक सुगठन खेलाडीको क्षमता बढाउन र एक्सपोजर प्रदान गर्न बडी बिल्डिङ आयोजना गर्न लागेको खरेल अर्गनाइजेसनका निर्देशक सज्ञान खरेलले जानकारी दिएका छन् ।

प्रतियोगितामा ५ अन्तर्राष्ट्रिय जजबाट विजेता छानिने छन् । प्रतियोगितामा मसल मेनिया नेपाल क्लासिक, नेपाल फिजिक, मोडल च्याम्पियनसिप, फिगर नेपाल र यू–२२ को विधा गरी पाँचवटा इभेन्ट रहेको खरेलले बताए ।

विजेताले १३ डिसेम्बरमा सिंगापुरमा हुने ‘मसल मेनिया एसियामा समेत प्रतिस्पर्धा गर्न पाउने छन् । पाँचै विधाका उत्कृष्ट विजेतालाई आयोजकले पूरै स्पोन्सरसिपमा सिङगापुर सहभागिता गराउने छ । प्रतियोगिता सञ्चालन गर्न फाइनान्सियल एडभाइजर प्रविन श्रेष्ठ र सुरज खड्का रहेका छन् ।