‘मिर्मिर कपालैमा’ लिएर आए घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए घोरासैनी


गायक नवराज घोरासैनीले लगभग दशक अवधिपछि आफूलाई ‘कमब्याक’ गराएका छन् । ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित गायक घोरासैनीले आफूलाई नेपाली गीत सङ्गीतमा कमब्याक गराएका हुन् । आफ्नै शब्द, स्वर र सङ्गीतमा उनले ‘मिर्मिरे कपालैमा’ ल्याएका हुन् ।

‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छन् । गीत अत्यन्तै गहकिलो बनेको घोरासैनीको दाबी छ । “लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु, गीत–सङ्गीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि ‘मिर्मिर कपालैमा’ ल्याएको छु”, उनले प्रष्ट्याए ।

यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो…’ बोलको गीत ल्याएका थिए, जो त्यसबेला निकै लोकप्रिय भएको थियो । उनले थुप्रै गीतमा स्वर पनि दिए तर उनको ‘घुम्तीनेर भेट भयो’लाई अरु गीतले उछिन्न सकेन । उनले ‘घुम्तीनेर भेट भयो’ बोलको गीतकै मिठासमा ‘मिर्मिर कपालैमा’ गीत ल्याएका हुन् । काँठे भाकाको ‘मिर्मिरे कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन् भने एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन् । गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ ।