यौन दुर्व्यवहार गर्ने शिक्षक हिरासतमुक्त

यौन दुर्व्यवहार गर्ने शिक्षक हिरासतमुक्त


पाँच कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई प्रहरीले लिखित जाहेरी नपरेको भन्दै रिहा गरिदिएको छ । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ७ (टीकाथली) स्थित नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौला त्यसरी पक्राउ परेर छुटेका हुन् ।

उक्त विद्यालयमा अध्ययनरत सत्र जना छात्राहरूले आफूहरूलाई शिक्षक निरौलाले यौन दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर प्रिन्सिपल सविता घिमिरे सिलवालसमक्ष निवेदन दिएका थिए । निवेदन परेपछि गत शुक्रबार प्रहरीले शिक्षक निरौलालाई पक्राउ गरेको थियो ।

तर, जाहेरी नदिएको भन्दै सातदोबाटो प्रहरी परिसरले आरोपित शिक्षक नन्दप्रसादलाई आइतबार (४ फागुन) रिहा गरिदिएको छ । यसरी पीडकलाई कुनै कारबाही नगरी रिहा गरिदिएपछि पीडित बालिकाहरूमाथि त्यसको कस्तो असर पर्ला भन्नेतर्फ सम्बन्धित पक्ष संवेदनहीन देखिनु आश्चर्यको विषय बनेको छ ।

ज्ञातव्य छ, यौन दूराचारी शिक्षकविरुद्ध पीडित छात्राहरुले दिएको निवेदन प्रिन्सिपल घिमिरेले लुकाएर राखिदिएकोले पीडकले सजिलै उन्मुक्ति पाएको बताइएको छ ।