बिजुलीका तार भूमिगत गर्ने कामको शुरुवात

बिजुलीका तार भूमिगत गर्ने कामको शुरुवात


काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् । पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए ।

प्रधानमन्त्री ओलीले विद्युत, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरूपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आमजनतालाई पनि सहज हुने र सेवा पनि सरल रूपमा प्राप्त गर्न सकिने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरूप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’ विद्युत, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौंको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही–केहीलाई किन पीर परेको हो ? : प्रधानमन्त्री

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रूपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले केही मान्छेलाई भने पीर परेको बताए । उनले भने, ‘सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही–केहीलाई किन पीर परेको हो ?’ उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे । प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको सो अवसरमा उल्लेख गरे ।

उनले दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि दैनिक ६ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करिब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्यांक पेस गरे ।

प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत निर्यातसमेत गर्ने जानकारी दिए । एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कुल विद्युत उत्पादन पाँच सय मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा पाँच सय मेगावाट थपिएको र केही समयभित्रै ठूलो मात्रामा विद्युत उत्पादन हुने अवस्थाको सिर्जना गरिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले विद्युत खपत पनि बढाउँदै लैजाने उल्लेख गरे । विद्युत् खपतको मात्रामा बढोत्तरी हुँदै गएको भन्दै प्रधानमन्त्रीले त्यसमा थप वृद्धि हुने विश्वाससमेत व्यक्त रे ।

प्रधानमन्त्री ओलीले विगतमा नेपालबाट बौद्धिक पलायन (ब्रेनड्रेन) हुने गरेकामा त्यसलाई रोकेर विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने (ब्रेनगेन) अभियान शुरु भएको बताए ।
रासस