ऐतिहासिक गलकोटमा विदेशी मूर्तिकारको जमघट

ऐतिहासिक गलकोटमा विदेशी मूर्तिकारको जमघट


बागलुङको गलकोटमा आयोजना हुने अन्तर्राष्ट्रिय मूर्तिकार कार्यशालाका सहभागी कलाकारहरु त्यहाँ पुगेका छन् । जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), ट लिन लि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्जलुइज (ब्राजिल) र ल्युड्मेल (युक्रेन) कार्यशालामा भाग लिन बागलुङ पुगेका जनाइएको छ । बताइएअनुसार कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछन् ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलसहित कालिका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला प्रशासन र गलकोट क्षेत्रका बासिन्दाले कालिका मन्दिर परिसरमा आइतबार (४ फागुन) कलाकारलाई स्वागत गरेका थिए । समितिका अध्यक्ष राजु खड्काले कलाकारलाई भजनकृतनसहित कालिका मन्दिर परिसर घुमाएका राससले जनाएको छ ।

आज (५ फागुन) देखि गलकोट नगरपालिका–५ टेउवामा कार्यशाला शुरु हुँदैछ । सहभागी कलाकारले यही फागुन २१ गतेसम्म टेउवामा बसेर मूर्ति कुद्ने छन् । विशेषगरी मानव जीवनका लागि उपयोगी, इतिहास र संस्कृतिसम्बन्धी मूर्ति कुँदिने योजना बनाइएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले जानकारी दिए ।

गलकोट ऐतिहासिक कोटभित्र रहेको छ । यहाँको धेरै इतिहास र कलासमेत रहेको बताइन्छ । कलालाई पुनर्जागरण गर्ने, विदेशमा भएका कतिपय कलाकारिता र मानवीय संवेदनासँग जोडिएका मूर्ति कुद्ने काम कार्यशालामा हुने छन् । यसका लागि पाँचदेखि १० टनसम्मका ठूला ढुङ्गा लगेर राखिएको छ । ती ढुङ्गालाई तलमाथि चलाउनका लागि डोजरको प्रयोग गरिनेछ । मूर्तिका लागि कलाकारबाट विषय छनोट गरिसकिएको छ ।

कलाकारले मूर्ति कुद्ने ढुङ्गामा सम्बन्धित देशको झण्डासमेत राखिएको छ । उनीहरुले दुई सातासम्म त्यहीँ बसेर मूर्ति कुद्ने छन् । यसरी कुँदिएको मूर्तिलाई रक गार्डेनका रुपमा विकास गरिनेछ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएको घुम्टे जाने बाटैमा पर्ने भएकाले टेउवा आर्कषक विश्रामस्थल पनि हुनेछ । ढुङ्गाको मूर्ति कुँदिएकाले वर्षौंसम्म नबिग्रने र सयौँ वर्षपछि पनि अध्ययन केन्द्रको रुपमा रहने जनाइएको छ ।

“प्रतिष्ठानले गरेको अभियान निकै महत्वपूर्ण छ, हामीले पनि साथ र सहयोग गर्छौं”, गलकोट नगरप्रमुख भरत शर्मा गैरेले भने, “नगरपालिकाको पर्यटन पूर्वाधार तथा प्रवद्र्धनात्मक कामलाई प्रतिष्ठानले थप सहयोग गरेको छ ।” सो अभियानका लागि नगरपालिकाले पाँच लाख सहयोग गरेको छ । झण्डै डेढ करोड खर्च हुने सो कार्यशालाबाट वर्षेनी त्यत्तिकै आम्दानी गर्न सकिने गन्तव्य बन्न सक्ने जनाइएको छ ।

गलकोट पुरानो सदरमुकाम पनि हो । विदेशी पाहुना स्वागतका लागि हरिचौर बजार र टेउवालाई चिटिक्क पारिएको स्थानीय मन्जेसबम मल्लले जानकारी दिए । विदेशीलाई सामान्य घर र होटलमा राख्नुभन्दा टेउवामै टेन्ट राखेर सेवा सुविधा प्रदान गरिने व्यवस्था गरिएको जानकारी दिँदै उनले गलकोटको दृश्यावलोकन गर्ने अवसर पनि उनीहरुलाई हुने बताए ।

pict: rss