कोरोना भाइरसका कारण ६ महिना पछि सऱ्यो ‘सेन्ट्रल जोन पुरुष भलिबल’

कोरोना भाइरसका कारण ६ महिना पछि सऱ्यो ‘सेन्ट्रल जोन पुरुष भलिबल’


आगामी चैत दोस्रो साता बङ्गलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ ६ महिना पछाडि सरेको छ । सो प्रतियोगिता अब आगामी २०७७ सालको भदौ तेस्रो साता हुने भएको छ ।

कोरोना भाइरसका कारण खेलको मिति परिवर्तन गरेको आयोजक बङ्गलादेश भलिबल सङ्घले जानकारी दिएको हो । प्रतियोगिताको समय परिवर्तन भएपछि हाल सञ्चालित बन्द प्रशिक्षण स्थगित गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । आर्थिक अवस्थाका कारण लामो समयसम्म प्रशिक्षण सञ्चालन गर्न नसकिने भएकोले हाललाई बन्द प्रशिक्षण स्थगित गरिएको उनले जानकारी दिए । प्रतियोगिताको दुई महिनाअघि पुनः बन्द प्रशिक्षणको आयोजना गरिने उनको भनाई छ ।

सङ्घले आइतबार (४ फागुन)देखि शुरु हुने बन्द प्रशिक्षणका लागि १८ खेलाडीलाई बोलाएको थियो । सङ्घले उक्त च्याम्पियनशिपका लागि हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा खेलेका १३ खेलाडी तथा अन्य पाँच खेलाडीसहित प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

सेन्ट्रल जोन भलिबलका लागि इम राना (कप्तान), विनोद चन्द, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, धनबहादुर भट्ट, टेकराज अवस्थी, दीपकराज जोशी, ईश्वर थापामगर, विशाल विक, हरि अधिकारी, हरिहजुर थापा, शरण क्षेत्री, दुर्गा खड्का, द्वारिका थापा, राजु शेरचन, दुर्गा महतो, दीपक राज र कुलबहादुर थापालाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको थियो ।

बङ्गलादेश भलिबल सङ्घले प्रतियोगिता सरेको जानकारी गराएपछि हाललाई प्रशिक्षण रोक्नु परेको उल्लेख गर्दै नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्टले भने– ‘खेलाडीले आ–आफ्नो क्लबमा अभ्यास जारी राख्नेछन् ।’

ज्ञातव्य छ, उक्त प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, तुर्किमिनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, मालदिभ्सलगायत देशको सहभागिता रहनेछ ।