खरिपाटीका स्थानीयको स्वास्थ्य परीक्षण गर्न निःशुल्क स्वास्थ्यकक्ष

खरिपाटीका स्थानीयको स्वास्थ्य परीक्षण गर्न निःशुल्क स्वास्थ्यकक्ष


चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिए ।

आइतबार (४ फागुन)देखि नै चिकित्सकसहितको हेल्थ डेक्स राखिएको र स्थानीयवासीको निःशुल्क स्वास्थय परीक्षणदेखि आवश्यक परेमा निःशुल्क उपचारसमेत गर्ने गरी व्यवस्थापन गर्न लगाइएको उनको भनाई छ ।

चाँगुनारायण–७ घुमाउनेस्थित सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक चिकित्सक र एक नर्ससहितको टोलीले हेल्थ डेक्स स्थापना गरेको हो । हेल्थ डेक्समा अस्पतालका डा. मञ्जु बज्राचार्य र नर्स मैया नायवाको टोलीले स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिरहेको छ । डा. बज्राचार्यले आइतबार १०ः०० बजेदेखि निःशुल्क हेल्थ क्याम्प सञ्चालन गरेको जानकारी दिँदै हेल्थ डेक्समा आउने स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण एवं निःशुल्क औषधि वितरणका लागि आवश्यक औषधिसमेत ल्याइएको बताए ।

प्रत्येक दिन १०ः०० बजेदेखि ३ः०० बजेसम्म हेल्थ डेक्स सञ्चालनमा रहने बताउँदै डा. बज्राचार्यले आज पहिलो दिन भएकाले होला स्वास्थ्य परीक्षणका लागि कोही नआएको बताए । नियमित रूपमा कम्तीमा १४ दिनसम्म यस स्थानमा हेल्थ क्याम्प सञ्चालन हुने भएको छ । क्वारेण्टाइनमा बस्नेका लागि हरेक दिन स्वास्थ्यजाँच गर्दा त्यहाँका स्थानीयवासीको पनि स्वास्थ्य जाँच गर्नुपर्ने नगरप्रमुख मिश्रको भनाइ छ ।

नगरप्रमुख मिश्रले स्थानीय वासिन्दा त्रासमा रहेको र कतिपयले बस्ती नै छाड्न थालेको बताउँदै स्थानीयवासीको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी केन्द्रीय सरकारले लिनुपर्ने अडान रहेको स्मरण गराए ।

pict: rss