नाइजेरियामा तीसजनाको बीभत्स हत्या

नाइजेरियामा तीसजनाको बीभत्स हत्या


हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रहरी अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले गाउँलेलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरूले काट्सिना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीहरूले स्थानीय बासिन्दालाई घर घरमै आक्रमण गर्नुका साथै उनीहरूको घरमा समेत आगजनी गरेका छन् । ‘हतियारधारी आक्रमणकारीहरूले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरू नौजनालाई डाङकर गाउँमा हत्या गरेका छन्,’ कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

मृत्यु भएकामध्ये अधिकांश वृद्धवृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा वृद्धवृद्धा र बालबालिका धेरै भएको अधिकारीले जनाएका छन् । आक्रमणकारीहरूले मानव हत्या र घरहरूमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीको भनाइ छ ।

स्थानीय एक बासिन्दाले भने, ‘यति दर्दनाक र क्रूर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ ।’