शनिबार राति नयाँबसपार्क क्षेत्रबाट ५७ पक्राउ

शनिबार राति नयाँबसपार्क क्षेत्रबाट ५७ पक्राउ


प्रहरीले गोंगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेस्टहाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिंगी छन् ।

प्रहरीले गेस्टहाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेस्टहाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेस्टहाउसका सञ्चालक नरेन्द्र पोमु र बाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । यसैगरी गेस्टहाउसमा बिचौलियाका रूपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको विकृति, विसंगति अन्त्यका लागि अभियान चलाएको बताए । बेश्यावृत्ति, पाकेटमार र जबर्जस्ती करणी मुद्दामा फरार व्यक्तिलाई नियन्त्रणका लागि पनि अभियान चाल्नुपरेको उनको भनाइ छ ।

अभियानका क्रममा प्रहरीले विभिन्न होटेल तथा रेस्टुराँबाट एक सय लिटर घरेलु मदिरासमेत नष्ट गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँबसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रका रूपमा विकास गर्न यहाँभित्र रहेका विकृति–विसंगति अन्त्यका लागि थप प्रहरी परिचालन गरी अप्रेसन चलाइएको बताए ।

महाराजगञ्ज प्रहरीले पाँच महिनाको अवधिमा बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा लाग्ने झण्डै एक हजार व्यक्तिलाई पक्राउ गरी कारबाही गरिसकेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

rss