वुहानबाट एक सय पचहत्तर नेपालीको उद्धार

वुहानबाट एक सय पचहत्तर नेपालीको उद्धार


कोरोना भाइरसको प्रकोपबाट आतंकित भई चीनबाट स्वदेश फर्कन आतुर रहेका नेपालीहरु आइतबार (४ फागुन) बिहान ४ बजे नेपाल आइपुगेका छन् । नेपाल आउन आवेदन दिएर चीनको हुबेई प्रान्तमा पर्ने वुहानमा भेला भएका १ सय ८५ जनामध्ये १ सय ७५ जना घर फर्किएका हुन् ।

नेपाल नआएका दशमध्ये ६ जनालाई ज्वरो आइरहेको कारण चीनले नै रोकेको र चार जनाले आफै आउन नचाहेपछि वहीँ रोकिएको बुझिएको छ । आज स्वदेश आउनेहरुमा १३४ पुरुष र ४१ महिला छन् । एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन् ।

नेपालीको उद्धार गर्न शनिबार चीनतर्फ उडेको नेपाल बायुसेवा निगमको विमान आज बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । वुहानबाट उद्धार गरेर ल्याइएका कसैको स्वास्थ्यमा पनि कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको बिहानै खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो । अब १४ दिन उनीहरुलाई चिकित्सकको निगरानीमा राखिनेछ । ज्ञातव्य छ, विश्व स्वास्थ्य सङ्गठनले चीनबाहिर गएका सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्नैपर्ने नियम बनाएको छ ।