सेनाको बृहत् प्रदर्शनीमा सर्वसाधारणको आकर्षण

सेनाको बृहत् प्रदर्शनीमा सर्वसाधारणको आकर्षण


‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजना गरिएको बृहत् प्रदर्शनी १३ हजारभन्दा बढी सर्वसाधारणले अवलोकन गरेका छन् । यही फागुन १ गतेदेखि शुरुभएको सो प्रदर्शनी शनिबार (३ फागुन) समापन भएको थियो ।

नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले जङ्गी अड्डा परिसरमा आयोजना गरिएको प्रदर्शनीमा सेनाले गरेका उल्लेखनीय काम झल्किने तस्वीर, ऐतिहासिक एवं नवीनतम् हातहतियार, उपकरण, पोशाक र सैन्य सामग्री समावेश गरिएको थियो । प्रदर्शनी अवलोकन गर्न ठूलो सङ्ख्यामा विद्यार्थी र सर्वसाधारण पुगेका थिए ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने मुख्य संवैधानिक जिम्मेवारीमा रहेको सेनाले शिवरात्रि एवं सेना दिवसका अवसर पारेर तीन वर्षदेखि यस्तो प्रदर्शनी गर्दै आएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी महेशकुमार थापाले प्रदर्शनीमा सहभागिता जनाउने एकाइका प्रतिनिधिलाई समापनका अवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो ।