कोरोना भाइरसबाट मृत्यु हुने १४ सय पुगे, ६५ हजार संक्रमित

कोरोना भाइरसबाट मृत्यु हुने १४ सय पुगे, ६५ हजार संक्रमित


चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको कोरोना भाइरसबाट संक्रमित भई ज्यान गुमाउनेको संख्या करिब एक हजार चार सय पुगेको शुक्रबार प्राप्त समाचारमा जनाइएको छ । शुक्रबार चीनको भाइरस महामारीको कारण मर्नेको संख्या एक हजार तीन सय ८० पुगेपछि अमेरिकाले बेइजिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको छ ।

हुबेई प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको संक्रमण शुरु भएको यो भाइरसबाट हुने संक्रमणलाई हालै मात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ संक्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।

पछिल्लो समयमा निको भएर घर फर्किएका बाहेक हाल संक्रमण भई उपचार गराइरहेका बिरामीको संख्या झन्डै ६५ हजार पुगेको छ । यस संक्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेई प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा संक्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेई प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । उता विश्व स्वास्थ्य संगठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका थिए ।

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु
उता नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ७० पुगेको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । उनीहरूका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने जनाएको छ । त्यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ ।

यस ज्वरोबाट संक्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको संख्या ४७२ जना रहेको छ । यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ ।

यस ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरू यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ ।
रासस–एएफपी