घुसखोरी काण्डको जरिवानाका कारण एयरबसको नोक्सानी एक अर्ब ३६ करोड युरो

घुसखोरी काण्डको जरिवानाका कारण एयरबसको नोक्सानी एक अर्ब ३६ करोड युरो


फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा एक अर्ब ३६ करोड युरो पुगेको जनाएको छ ।

घुसखोरी काण्ड बापत भुक्तानी गर्नुपरेको तीन अर्ब ६० करोड युरो जरिवाना तथा ए४००एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको बिहीबार (१३ फेब्रुअरी) जनाइएको हो ।

कम्पनीले आफ्नो सञ्चालन खर्चमा भने करिब सात अर्ब युरो नाफा भएको बताएको छ । सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने करिब ८८० वटा व्यावसायिक बिमान बिक्री गर्ने योजना बनाएको छ ।

‘हामीले सन् २०१९ मा राम्रै प्रगति गरेका हौं । हामीले व्यावसायिक बिमान निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौँ र ग्राहकको विश्वास जित्न सफल भएका छौँ’, एयरबसका प्रमुख कार्यकारी अधिकृत गिलम फरीले बताएका छन् ।

एयसबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुङ्ग्याउन बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकालाई तीन अर्ब ६० करोड युरो भुक्तानी गर्न सहमति जनाएको छ ।