‘कोभिड-१९’बाट मृत्यु हुनेको सङ्ख्या तेह्र सय नाघ्यो

‘कोभिड-१९’बाट मृत्यु हुनेको सङ्ख्या तेह्र सय नाघ्यो


कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट सङ्क्रमण शुरु भएको यस भाइरसबाट हुने सङ्क्रमणलाई हालै मात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।

वुहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको जनाउँदै एएफपीले मृतकको कुल सङ्ख्या बुधबार (१२ फेब्रुअरी) सम्म एक हजार ३५० पुगेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका बिरामीको सङ्ख्या झन्डै ६० हजार पुगेको छ । यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीलाई पदमुक्त गरेको जनाइएको थियो ।

स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । यस सङ्क्रमणबाट उहानमा ज्यान गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो ।

हालसम्म यस प्रान्तमा मात्र सङ्क्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका हुन् ।