१० कृषि केन्द्रलाई प्रदेश सरकारकोे १० करोड अनुदान

१० कृषि केन्द्रलाई प्रदेश सरकारकोे १० करोड अनुदान


बागमती प्रदेश सरकारले कृषि व्यवसायको प्रवर्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई एक–एक करोड रुपैयाँका दरले अनुदान वितरण गर्ने भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिक रूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको हो । निर्देशनालयले प्रदेशका विभिन्न जिल्लामा एकीकृत मोडेल कृषि फार्म विकास तथा विस्तार कार्यक्रमअन्तर्गत माग गरेको प्रस्तावनाबाट छनोट भएका व्यावसायिक फार्मलाई एक–एक करोडका दरले अनुदान रकम दिन सम्झौता गरिएको राससले जनाएको छ ।

निर्देशनालयले काभ्रेको गोल्डेन फार्म प्रालि, रामेछापको सप्तभूमि एग्रो फार्म एण्ड रिसर्च सेन्टर हेलम्बु, नुवाकोटको मध्यपहाडी कृषि फार्म र प्रसिद्ध कफी स्टेट प्रालि, चितवनको केरुङ सामुदायिक तरकारी कृषि फार्म, मकवानपुरको जीके कृषि फार्म प्रालि, सिन्धुलीको एग्रो कम्पनी प्रालि, धादिङको केवलपुर एग्रो फार्म प्रालि, सिन्धुपाल्चोकको एग्रिकल्चर प्रालि र रामेछापको एग्रो एन्ड लाइभस्टक नेपाललाई अनुदान दिने भएको हो ।

उक्त कार्यक्रमका लागि प्रस्ताव प्रस्तुत गर्नेमध्ये कृषि क्षेत्रमा काम गर्ने निजी फार्म, कृषक समूह र सहकारी छनोट गरेर उनीहरूलाई ५० प्रतिशत अनुदानका लागि प्रतिकृषि केन्द्ररु एक करोडका दरले उपलब्ध गराइने सम्झौता भएको कृषि विकास निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए । उनका अनुसार अनुदान प्राप्त गर्ने कृषि केन्द्रले आगामी असार मसान्तसम्ममा काम गरिसक्नुपर्नेछ ।