व्यावसायिक असुरक्षाका कारण सप्तकोसीको जेटबोट बन्द

व्यावसायिक असुरक्षाका कारण सप्तकोसीको जेटबोट बन्द


सुनसरीको चतरास्थित सप्तकोसीमा निजी कम्पनीले चलाउँदै आएका जेटबोट अनिश्चितकालका लागि बन्द भएका छन् । स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि नै सेवा बन्द गरेको सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले बताए ।

वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले साना–ठूला गरेर सात जेट बोटबाट कोसी पुलदेखि बराह क्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका थिए । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिसन माग्ने तर सरकारले रोक्न कुनै कदम नचालेको व्यवसायीको गुनासो छ । ‘नदीमा पानीजहाज सञ्चालनका लागि प्रधानमन्त्रीले प्रतिबद्धता जनाएअनुसार करोडौँ खर्च गरेर सेवा विस्तार गऱ्यौं, तर हाम्रो व्यावसायिक सुरक्षा भएन । त्यही भएर बन्द गर्न बाध्य भयौैँ,’ कार्कीले भने ।

बोट सेवा बन्द भएपछि भोजपुर, खोटाङ, धनकुटाबाट तराई आउजाउ गर्ने दैनिक सात सय यात्रुलाई समस्या भएको छ । चतराबाट बराह क्षेत्र मन्दिर १० मिनेटमा यात्रा गर्दै आएका यात्रु समस्यामा परेका छन् । कुल १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोसीमा सञ्चालन हुँदै आएको थियो ।