सिड्नीमा ‘अपोलो होली मेला २०२०’ को तयारी

सिड्नीमा ‘अपोलो होली मेला २०२०’ को तयारी


■ राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)
विगतका वर्षमा जस्तै यस वर्ष पनि अष्ट्रेलियाको सिड्नीमा ‘होली–मेला’ हुने भएको छ । विगत ४ वर्षदेखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएका गगन शर्माले जानकारी दिएअनुसार यसपटककको मेलाको नाम ‘अपोलो होली मेला २०२०’ राखिएको छ । ‘यो वर्ष झनै बृहत र परिस्कृत रूपमा होली मेला सम्पन्न गर्न हामी लागिपरेका छौँ’– शर्माले भने ।

आयोजक शर्माले सन् २०१७ देखि होली मेलालाई निरन्तरता दिँदै आएका छन् । यसपटकको कार्यक्रममा उनलाई टाइटल प्रायोजकको रूपमा अपोलो इन्टरनेशनल ऐजुकेसन माइग्रेसनले साथ दिएको छ । मार्च ८ तारिकका दिन सिड्नीको लिडकममा रहेको वाइट पार्कमा आयोजना हुन लागेको कार्यक्रममा स्थानीय कलाकारहरूको साथमा नेपालबाट अल्मोडा, तृष्णा गुरूङ र दिनेश काफ्ले आउने भएका छन् ।

विशेष गरेर अष्ट्रेलियामा आयोजना हुने विविध सांस्कृतिक कार्यक्रमहरूको निकै भब्यताका साथ आयोजना गर्दै आएका गगन शर्माले नेपालबाट प्रशान्त तामाङ, इन्दिरा जोशी, केकी अधिकारी, सन्जिव सिंह, एज ब्याण्ड, कुटुम्ब, सविन राई, प्रजापति पराजुली लगायतका कलाकारलाई पहिलोपटक अष्ट्रेलिया ल्याएका थिए । प्रवासमा नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिनु नै कार्यक्रमको उद्देश्य रहेको शर्माले जानकारी दिए ।

यसपटक अपोलो होली मेला–२०२० मा शर्माले प्रस्तुत गर्न लागेका आल्मोडा र तृष्णा युवा पुस्तामाझ लोकप्रिय कलाकार हुन् भने दिनेश काफ्ले बुगी बुगी नेपाली नृत्य प्रतियोगिता टेलिभिजन शोका प्रस्तोता हुन् । हास्य प्रस्तुतिका साथ कार्यक्रम सञ्चालन गर्ने दिनेशको शैली मन पराउने गरिन्छ । त्यस्तै, आल्मोडाको ‘पानी पऱ्यो असिना झऱ्र्योे……र तृष्णाको जाउँ न माया साथैमा माया पिरती लगायतका गीतहरू चर्चित छन् ।