यसपटक पनि केपी ओली अनुपस्थित

यसपटक पनि केपी ओली अनुपस्थित


पार्टी एकीकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादीकरण गर्न अनेकौँ प्रयास भइरहेका भए पनि प्रचण्डलाई अहिलेसम्म सफलता मिलेको छैन । हत्याआरोपी अग्नि सापकोटालाई सभामुख बनाउन केपी ओली बाध्य हुनुलाई कतिपयले पार्टी नेताहरूबीचको आन्तरिक एकता ‘सुदृढ’ भएको अर्थ लगाएका छन् भने कतिले ‘केपी ओली माओवादीसँगै लतारिएको’ टिप्पणी पनि गरेका छन् ।

पार्टी एकतापछि नेकपाभित्र एमाले कित्ताको माओवादीकरण हुने कि माओवादीको एमालेकरण हुने भन्ने जिज्ञाशा उत्पन्न भएको थियो । शुरुमा माओवादीको एमालेकरण भएजस्तै देखिएको भए पनि पछिल्लो समयमा एमालेको माओवादीकरण हुने क्रम बढेको छ । एकीकरणपछि फागुन १ गतेलाई पार्टीले जनयुद्ध दिवसका रूपमा मनाउनुपर्ने दबाब प्रचण्डहरूले पैदा गरेका थिए । लामो बहसपछि ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृति दिवस’का रूपमा फागुन १ गतेका दिन समारोहको आयोजना गर्ने सहमति बनेको थियो ।

तर, गत वर्ष फागुन १ गते आयोजना गरिएको समारोहमा प्रधानमन्त्री केपी ओली सहभागी हुनुभएन । यसपटक पनि फागुन १ गते बिहीबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा एक औपचारिक समारोहको आयोजना गर्दै समारोहलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय त भयो, तर यसपटक आयोजना गरिएको कार्यक्रममा पनि केपी सहभागी बन्न इच्छुक नहुनुभएको बुझिएको छ ।

केपीको मुखबाट माओवादी हिंसाको पक्षमा बोलेको एक वाक्य सुन्न प्रचण्ड निकै अघिदेखि नै लालायित झैँ हुनुहुन्छ । तर, प्रचण्डको त्यस्तो इच्छा अहिलेसम्म पूरा भएको छैन । फागुन १ गते आयोजना गरिने समारोहमा उभिएर माओवादीका पक्षमा एक वाक्य खर्च गर्नसमेत केपी शर्मा ओली राजी नहुनुले एमालेलाई माओवादीकरण गर्ने प्रयासमा प्रचण्ड अहिलेसम्म असफल हुनुभएको मान्न सकिन्छ । एमालेका कतिपय नेता आफूलाई माओवादीकरण गर्न तम्तयार रहँदा पनि केपीको होसियारीले एमालेको साख जोगाउने सम्भावनाका रूपमा हेरिएको छ ।