युवराजका पक्षमा पश्चिमी गोलार्ध

युवराजका पक्षमा पश्चिमी गोलार्ध


युवराज खतिवडालाई अर्थमन्त्रीका रूपमा व्यहोर्नुपर्ने समय छोट्टिँदै जाँदा पश्चिमी जगत्बाट खतिवडालाई लाभ पुऱ्याउने नियोजित उद्देश्यका साथ उनको प्रशंसा शुरु भएको छ ।

अबको केही दिनमै राष्ट्रिय सभा सदस्यमा खतिवडाको दुईवर्षे कार्यकाल समाप्त हुँदै छ । शक्तिशाली पश्चिमी मुलुकको नेपालस्थित राजदूतावास र विश्व बैंकका प्रतिनिधिलगायत पश्चिमी मुलुकनिकट भनेर चिनिएका केही व्यक्तिहरू युवराज खतिवडालाई पुनः राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनयन गराएर अर्थमन्त्रीमा निरन्तरता दिलाउन लागिपरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरूमध्ये राजन भट्टराई र विष्णु रिमाल युवराजका निम्ति लबिङ गर्दै छन् । विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस एच जर्भोसले चाहिँ दुई वर्षयता नेपालले ठूलो आर्थिक उन्नति गरेको भन्दै युवराज खतिवडाको पक्षमा माहौल बनाउने प्रयास गरेका छन् । जर्भोसको भनाइ छ– ‘दुई वर्षमा नेपालले असाधारण उपलब्धि हासिल गरेको छ ।’ यसअघि पनि विश्व बैंकले नेपालको अर्थतन्त्र प्रगतिउन्मुख रहेको भन्दै अप्रत्यक्ष ढङ्गले खतिवडाबाट राम्रो काम भइरहेको भन्ने सन्देश दिएको थियो ।

देशको मुद्रा सञ्चिति घटेको र व्यापारघाटा बढेकोबढ्यै छ, करको दर र दायरा फराकिलो हुँदा उद्यम–व्यवसायमा त्यसको नकारात्मक असर परेको छ, बैंकिङ कारोबारमा थपिएको जटिलताका कारण लगानी र सञ्चयको स्थिति निराशाजनक बन्न पुगेको छ । वैदेशिक लगानीको अनुपात पहिलेको तुलनामा न्यून भएको छ । मुद्रास्फीतिको स्थिति नकारात्मक दिशामा देखिन्छ भने देशको समग्र आर्थिक क्रियाकलापमा व्यापक मन्दी आएको छ । यसका बाबजुद विश्व बैंकले नेपालको अर्थतन्त्र सबल हुँदै गएको कसरी देख्यो, आश्चर्यजनक मानिएको छ ।

पश्चिमी शक्ति यसरी युवराज खतिवडाको पक्षमा जोडदार ढङ्गले लागिपरेको भए पनि नेकपाभित्र तलदेखि माथिसम्मको पङ्क्ति युवराजलाई दोहोऱ्याएर राष्ट्रिय सभा सदस्य बनाउने कुराको पूर्ण विपक्षमा भएकोले राष्ट्रपतिद्वारा नियुक्त हुने कोटामा युवराजको नाम पर्ने सम्भावना क्षीण भएको छ । तथापि खतिवडालाई पुनः नियुक्ति गराउने दबाबको वेग भने रोकिएको छैन ।

कदाचित राष्ट्रिय सभा सदस्य नियुक्त गर्न सकिएन भने पनि ६ महिनाका लागि खतिवडालाई नै अर्थमन्त्री बनाइराख्न प्रधानमन्त्री केपी ओलीमाथि दबाब पैदा गरिएको छ । उद्यमी–व्यवसायी र आर्थिक कारोबार गर्ने हरेकको दृष्टिमा ‘आतङ्ककारी’जस्तै छवि बनाएका खतिवडालाई अर्थमन्त्रीमा नदोहोऱ्याउन प्रधानमन्त्री ओली राजी भइसक्नुभएको भए तापनि पछिल्लो दबाबलाई ओलीले कसरी थेग्न सक्नुहोला भन्ने जिज्ञाशा पैदा भएको छ ।

यसरी युवराजलाई अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्रीमाथि दबाब भइरहँदा केपी ओलीसँग असहमत पक्ष यस विषयमा मौन देखिएको छ । युवराजलाई अर्थमन्त्रीमा निरन्तरता दिइँदासम्म देशमा आर्थिक जागरणको स्थिति नबन्ने भएकोले केपीका विरोधी भनेर चिनिएका नेताहरू मौन रहेको बुझिन्छ । खतिवडाकै कारण केपी नेतृत्वको सरकारप्रति जनस्तरमा नकारात्मक धारणा बनिरहेकोले पनि केपीका आलोचकहरू युवराजको पक्ष र विपक्षमा बोल्न खोजिरहेका छैनन् ।

जे भए पनि खतिवडा राष्ट्रिय सभा सदस्यमा पुनः नियुक्त हुने सम्भावनाको चाहिँ अन्त्य भएको छ । उनलाई थप केही दिनका निम्ति मन्त्री बनाउन भएका प्रयासमा पश्चिमाहरू सफल हुने हुन् कि होइनन् प्रतीक्षाको विषय बनेको छ ।

यो पनि हेर्नुहोस्-

इतिहासकै असफल अर्थमन्त्रीले सरकारबाट बिदा पाउने निश्चित

अर्थमन्त्रीलाई जनताको प्रश्न- ‘तिमी युवराज हौ कि यमराज ?

युवराजलाई किन ‘यमराज’ ठान्न थालियो ?