अख्तियारलाई कुनै आदेश नदिएको प्रधानमन्त्रीको दाबी

अख्तियारलाई कुनै आदेश नदिएको प्रधानमन्त्रीको दाबी


बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारको आदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति छानेर पूर्वाग्रही ढङ्गले मुद्दा लगाएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अख्तियारलाई त्यस्तो कुनै आदेश नदिएको दाबी गरेका छन् । संवैधानिक निकायलाई सरकारले हस्तक्षेप गर्ने सवाल नै नरहेको भन्दै प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार पनि नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न पनि नदिने दोहो¥याए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिकोत्सवका अवसरमा मंगलबार (२८ माघ) आयोगद्वारा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सरकारले अख्तियारलाई आफूअनुकुलको आदेश दियो भनेर मान्छेमा भ्रम छर्ने कोसिस गरिएको आरोप लगाउँदै सरकारले संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको दाबी गरे ।

हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा उनले सदाचारीभन्दा भ्रष्टाचारीले भ्रष्टाचारको बारेमा चर्को बोल्ने गरेको तर्कसमेत गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा पक्षधरता नराख्न सबै पक्षसँग आग्रह गरे ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले अख्तियारको वार्षिक स्मारिका सार्वजनिक गर्नुका साथै अख्तियारका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार प्रदान गरेकी थिइन् भने अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले अख्तियारले पछिल्लो समयमा भ्रष्टाचारमा स्टिङ अपरेसनलगायत ठूलो संख्यामा मुद्दामा सफलता प्राप्त गरेको बताएका थिए ।