राक्षसले राज्य गऱ्यो !

राक्षसले राज्य गऱ्यो !


■ रसिकदेव

झुक्याई फकाई राक्षस पसिगो बस्तीको दशा भयो
उल्टियो बुद्धि परिवारजनको अनर्थ झगडा भयो ।।
धस्काउँदैछन् सहि स्वमृत्युपत्रमा साध्न प्रतिशोधको
दाजुभाइ काटमारमै उत्रिए प्रभाव राक्षसी–मन्त्रको ।।

राक्षसको साथमा सुरक्षित ठान्ने लालबुझक्कडहरू
साथ छोडी घरको यात्रा त्यो वनको बलिका पशुहरू ।।
बुझ्दैनौ भाइ तिमी किन राक्षसको शिकारै बन्यौ
छर्लङ्गै छ पाउन्नौ केही नै बन्ने त उस्कै खाना हौ ।।

घरमुली दलायौ, परिवार भँडायौ लाग्यौ पछि राक्षसको
पूरा हुन्न सपना कहिल्यै यो यात्रा हो नर्कको ।।
बुझ्याछ उसले शिकारलाई चारा चाहिन्छ पासोमा
स्वाद चाख्नुपहिल्यै गाँज्नेछ तिमीलाई डुब्नेछौ पश्चातापमा ।।

आशा जो राखियो परिवार जोडियो अहिले अनर्थ भयो
दुईटाउके चराझैँ कुबुद्धि भरियो दुवैको अन्त्य भयो ।।
राक्षसी अट्टहास फर्कियो फेरि यहाँ शान्तिले बिदा लियो
दाजुभाइकै मति उल्टो भएपछि राक्षसले राज गऱ्यो ।।