विजय गच्छदार ‘निर्दोष सावित हुने’ काङ्ग्रेसको विश्वास !

विजय गच्छदार ‘निर्दोष सावित हुने’ काङ्ग्रेसको विश्वास !


बालुवाटार जग्गा प्रकरणमा अख्तियारद्वारा दोषी ठहऱ्याइएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार अन्ततः निर्दोष सावित हुने विश्वास लिइएको बताइएको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कानुनी प्रक्रिया सामना गरेर नेता गच्छदार ‘निःष्कलंक’ सावित हुने विश्वास लिएको हो ।

ललिता निवासको जग्गासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोगपत्र आफैँमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको आरोप पनि कांग्रेस बैठकले लगाएको छ । आयोगले गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको आरोप पनि कांग्रेसले दोहोऱ्याएको छ ।

सरकारले दर्शाएको प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गरिएको बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउन सरकारसमक्ष माग गर्नुका साथै उद्धारमा हुने ढिलाइले संक्रमणको जोखिम बढ्ने, त्यसबाट नेपालमा पर्न सक्ने गम्भीर असरबारे र स्वदेश ल्याएर राख्ने ‘क्वारेन्टाइन’लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढङ्गले प्रबन्ध गर्न सरकारलाई सजग गराएको छ ।

यस्तै, राजधानीमा दिनदहाडै नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीका श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ । समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा यसलाई चित्रित गर्दै शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपिल गरिएको छ ।