आइएमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

आइएमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड


आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’बाट सम्मानित हुनुभएको छ ।

एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स, (आमो) र नेपाल व्यवस्थापन संघद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गर्नुभयो ।

राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका कुशल एवम् सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ । सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो ।

नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा उहाँको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।

अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । यो सम्मान आफूले ग्रहण गरे पनि वास्तवमा नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको एक सम्मान भएको उहाँको भनाई छ ।