‘मास्क किन्न पाइनँ, के गरौँ शिन्जो आबेज्यू ?’

‘मास्क किन्न पाइनँ, के गरौँ शिन्जो आबेज्यू ?’


आदरणीय प्रधानमन्त्री आबे शिन्जोज्यू,
विषय : मास्क अभाव भएकाले सहज व्यवस्थापन गराईपाउँ भन्ने बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा म नेपाल घर भई विगत ४ वर्षदेखि रोजगारीको शिलशिलामा जापानको राजधानी टोकियोमा बस्दै आएको छु ।

दुई सातायता चीनबाट फैलिएको सरुवा रोग कोरोना भाइरसको संक्रमण जापानदेखि नेपालसम्म फैलिएको छ । सयौँको ज्यान लिइसकेको यो रोगबाट हजारौँ व्यक्ति संक्रमित हुँदा जापानमा समेत प्रभावितहरुको संख्या बढिरहेको जापानी टेलिभिजनहरुले समाचार प्रशारण गरिरहेको देखिरहेको छु ।

कोरोना भाइरसबाट जोगिने उपायहरुमध्ये घरबाहिरको यात्रामा निस्कँदा वा अन्य व्यक्तिहरुबीच रहनुपर्दा अनिवार्य रुपमा मास्क लगाउन चिकित्सक र जापानी अधिकारीहरुले अनुरोध गरेको समाचारहरुमा देखे-पढेको छु ।

तर, टोकियो सुगिनामी कु कोएन्जी (म बस्ने ठाउँनजिक)का सबै फेमिलिमार्ट, सेभेन इलेभेन, लसन, एवन, मिनिस्टप, सेईयु, ह्याकुयेन पसललगायत आधा दर्जन बढी पसलमा दुई दिनदेखि मैले चाहेर पनि मास्क किन्न पाएको छैन ।

म गएको समयमा सकिएको देख्छु र रित्तै फर्कने गरेको छु । म काम गर्ने सुईदोउबासी रेल स्टेशननजिकका माथि नाम उल्लेख गरिएका पाँचवटा पसलमा आजै (७ फेब्रुअरी) बिहान ६ बजे पुग्दा पनी पाउन सकिनँ । जसका कारण सामान्यतया एक दिन मात्र प्रयोग गर्न मिल्ने मास्क मैले तीन दिनदेखि लगाइरहेको छु ।

जापानमा सामान्य अवस्थामा सामान अभाव कहिल्यै नभोगेको मैले विशेष अवस्थामा सरकार र सम्बन्धित सेवा दिने कम्पनीहरुले विशेष पहल गरेर अभाव हुन दिँदैनन् भन्ने सुनेको पढेको थिएँ । तर कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रारम्भिक जानकारी सार्वजनिक हुन नपाउँदै मास्क जस्तो सामान्य वस्तु अभावका कारण म जस्ता सामान्य नागरिकलाई कस्तो समस्या परेको होला, तपाईं महसुस गर्न सक्नुहुन्छ भन्ने विश्वास छ ।

एक त विदेशी त्यसमा पनि भाषागत कठिनाईका कारण यस्ता बस्तु सहज नपाउँदा जापानमा रहेका लाखौँ विदेशीले सायद धेरथोर मैले जस्तै समस्या भोग्न थाल्नुभएको होला ।

मलाई डर छ, आउँदा दिनमा यसको अभाव झनै बढ्ने अनि मैले चाहेर पनि मास्क किन्न नपाउँदा कतै म रोगको शिकार बन्न त पुग्दिनँ ?

आदरणीय प्रधानमन्त्रीज्यू,

हुनलाई ‘यो सानो कुरामा के पत्र नै लेखेको होला ! साथीभाइ चिनेजानेकालाई भनेर सरसापटी लिएर चलाएको भए पनि हुन्थ्यो’ भन्न पनि सक्छन् । मैले त एक-दुई दिनलाई एक-दुईवटा मास्क सापटी लिएर चलाउँला पनि, तर मजत्ती पनि भाषा नजानेका अनि यसरी गुनासो गर्न नसकी मनमै गुम्साउनेहरुले के गर्लान् भन्ने लागेकाले आफ्नै गुनासो पोखेको हुँ ।

म एक विदेशी, त्यसमा पनि नेपालजस्तो भौगोलीक रुपमा सानो अनि अविकसित देशको नागरिकको कुरो तपाईंसम्म आइपुग्ला भन्नेमा मलाई त्यतिधेरै विश्वास त छैन । तर पनि आधुनिक प्रविधिको जमानामा प्रविधिले संसारलाई पछि पारेको देशमा प्रविधि नै प्रयोग गरेर लेखेको पत्र पुगिहाल्छ कि भन्ने झिनो आशा मनमा पालेको छु ।

मलाई विश्वास छ यो पत्र तपाईंसम्म पुऱ्याउन सबैको साथ पाउनेछु, अनि धेरैको साझा समस्या बनिरहेको मास्कको यो अभाव छिट्टै हट्नेछ ।

अन्त्यमा, जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्रीको रुपमा नाम लेखाउनुभएको तपाईंलाई बधाईसहित बाँकी कार्यकाल सफलताको कामना गर्दछु ।

नेपालले यस वर्ष नेपाल भ्रमणवर्ष २०२० आयोजना गरेको जानकारी यहाँसम्म पक्कै नेपाल सरकारले गराएको होला । यो अवसरमा जापानको हार्दिकता र सहयोगबाट कृतज्ञ रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दै म एक नेपाली नागरिक तपाईंलाई नेपाल भ्रमणको लागि सविनय अनुरोधसहित हार्दिक निमन्त्रणा समेत गर्दछु ।

मलाई दृढ विश्वास छ, मास्क अभावको यो समस्या समाधानमा तपाईंले पहल गर्नुहुनेछ नै, साथै नेपाल भ्रमणको लागि नेपाली जनताको तर्फबाट प्रतिनिधि एक नेपाली युवाले गरेको अनुरोधलाई सकारात्मक रुपमा लिएर जापानको प्रधानमन्त्रीको रुपमा तपाईंलाई नेपालमा स्वागत गर्ने शुभअवसर छिट्टै मिल्नेछ ।

निवेदक

गोकर्ण अधिकारी

हाल : टोकियो, जापान

स्थाई घर : नेपाल