कृषि-प्रविधि र सिप सिक्न नेकपाका नेताहरू अष्ट्रेलियामा

कृषि-प्रविधि र सिप सिक्न नेकपाका नेताहरू अष्ट्रेलियामा


■ राजन घिमिरे, सिड्नी
नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेत अष्ट्रेलियाको सिड्नी आइपुगेका छन् । कृषिसम्बन्धी कार्यक्रममा सहभागी हुन बिहीबार राती बस्नेत सिड्नी आइपुगेका हुन् । ‘केही नयाँ सिप र प्रविधिको अध्ययन गर्न म अष्ट्रेलिया आएको हुँ’– आफ्नो अष्ट्रेलिया यात्राबारे नेता बस्नेतले सिड्नी एअरपोर्टमा प्रतिक्रिया दिए । बस्नेतसँगै नेकपा नेतृ तथा सांसद निरू पाल र अर्का नेता किरण पौडेल पनि सिड्नी आइपुगेका छन् ।

बताइएअनुसार बस्नेतको टोली अष्ट्रेलियाको एडिलेटमा आयोजना हुने कृषिसम्बन्धी कार्यक्रममा सहभागी हुनेछ ।

‘युवा नेताहरूमा देखिएको जोश र जाँगर अनि विदेशको प्रविधि तथा सिप सिकेर त्यसलाई नेपाल भित्र्याई व्यवहारमा लागू गर्न खोज्ने सोच तारिफयोग्य छ’– टोलीलाई स्वागत गर्न एअरपोर्ट पुगेका युवा प्रकाश सुवेदीको भनाई थियो ।

टोलीले नौ दिन अष्ट्रेलियाका विभिन्न शहरको भ्रमण गर्ने र नेता बस्नेतले अष्ट्रेलियाको नेपाली समाजसँग विचारविमर्श गर्ने कार्यक्रमसमेत रहेको सुवेदीले बताए ।

‘उच्चशिक्षा अध्ययन गर्न अष्ट्रेलिया आउनुभएका नेपाली विद्यार्थीहरूको सिप र शिक्षालाई कसरी नेपालमा लैजान सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्नेछु’, बस्नेतले बताए ।