करदाता सेवा कार्यालय विस्तार गरिँदै

करदाता सेवा कार्यालय विस्तार गरिँदै


■ नारद कोहार, कपिलवस्तु

आन्तरिक राजस्व कार्यालय कृष्णनगरको करदाता सेवा कार्यालय तौलिहवा र सन्धिखर्कमा विस्तार हुने भएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णयानुसार ग्राहकको सेवालाई मध्यनजर गर्दै सो स्थानमा करदाता सेवा कार्यालय स्थापना तथा स्तरोन्नति गर्न लागिएको हो ।

उद्योगी व्यवसायीहरुको सेवालाई मध्यनजर गरी फागुन मसान्तभित्र अनिवार्य रुपमा लागु हुने गरी मन्त्रालयले करदाता सेवा कार्यालय खोल्न लागेको आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख पुण्यप्रसाद न्यौपानेले बताए ।

टाढाको दूरी हुँदा उद्योगी, व्यवसायीलाई कर तिर्न समस्या भएपछि मन्त्रालयले करदाता सेवा कार्यालय थप गरेको न्यौपानेले बताए । न्यौपानेकै पहलमा उक्त कार्यालय स्थापना हुन लागेको हो । यसअघि उनले कार्यालयमा बैंक काउण्टर सञ्चालन गरेका थिए, जसका कारण कर बुझाउन आउने करदातालाई सहज भएको र कार्यालयमा बिचौलियाको अन्त्य भएको दाबी गरे ।

अब स्थापना गरिन लागिएको करदाता सेवा कार्यालय एक कर अधिकृतको मातहतमा सञ्चालन हुने बताइएको छ ।