जापानी दाताको बेग्लै रूप

जापानी दाताको बेग्लै रूप


‘दाता’को आवरणमा विगत अठार वर्षदेखि लगातार सीधासोझा नेपालीलाई लुट गर्दै आएका एक जापानिज नागरिकमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । जापानमा ‘समाजसेवा’ र नेपालमा ‘दाता’को खोल ओढेर विभिन्नखाले ठगी धन्दामा लाग्दै आएका सुगाहिको सुगिमोतो नामक व्यक्ति अध्यक्ष रहेको गैरसरकारी संस्था ‘एसीए जापान’ कालोसूचीमा रहेको खुलासासमेत भएको छ । गैरसरकारी संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्ने निकाय समाजकल्याण परिषद्मा एसीए जापान कालोसूचीमा रहेको र उसले आफ्नो संस्थाबाट भए-गरेका कुनै पनि जानकारी एक दशकयता परिषद्लाई नदिएको बुझिएको छ । बालुवाटारमा रहेको उक्त संस्थामार्फत सुगिमोतोले अनेक विवादास्पद कार्य मात्रै नगरी उनको मनपरी तथा एकलौटी स्वभावका कारण संस्थाभित्र असल नियतका कोही पनि अटाउन नसकेको बुझिएको छ । एसीए जापान नामक गैरसरकारी संस्थाभित्र सुगिमोतोले गर्दै आएका अपारदर्शी कामकारबाहीका कारण उक्त संस्थामा आबद्ध थुपै्र पदाधिकारीले आफूलाई बद्नाम हुनबाट जोगाउँदै त्यस्तो विवादास्पद संस्थामा नरहने निर्णय लिएको बुझिएको छ ।
एसीए जापानलाई स्थापनाका सुरुवाती वर्षमा ठूलो ऊर्जा दिलाएका राष्ट्रिय व्यक्तित्वहरूकै समेत नाम मुछेर धूर्त सुगिमोतोले ठगी गर्न थालेको बताइन्छ । काठमाडौंस्थित जापानी दूतावासकै आग्रहमा हाल एमाओवादीका सल्लाहकारसमेत रहेका प्रा.डा. विष्णुहरि नेपालको समेत नाम बेच्न थालेपछि उनले उक्त संस्था छाडेको जानकारीमा आएको छ ।
संस्था छाड्नुपरेको सन्दर्भमा आफ्ना निकटवर्तीसँग यतिबेला प्रा.डा. नेपालले ‘अन्तर्राष्ट्रियस्तरको गैरसरकारी संस्था भएपछि त नियम-कानुनअनुसार चल्नुपर्‍यो नि ! दाता भन्दैमा जे पनि गर्न पाइन्छ र ? न पारदर्शी हिसाबकिताब छ, न कुन कार्यक्रममा के-कति पैसा आएको हो ? कति खर्च गर्ने योजना बनाइँदै छ ? म संस्थाको सल्लाहकार रे ! मैलाई केही थाहा छैन, त्यो सबै जापानी एक्लैले निर्णय गर्दारहेछ, संस्थाभित्र एकैजनाको फट्याइँ टुलुटुलु हेरेर सल्लाहकार भइरहनुको औचित्य देखिनँ, साथसाथै प्रोटोकलको पनि त प्रसङ्ग उठ्छ, म पनि सल्लाहकार अरू काम न काजका योग्यता क्षमता नभएका र खासै पहिचान पनि नबनाएकाहरू पनि संस्थामा विभिन्न पदमा धमाधम अटाउने क्रम बढ्न थालेपछि मैले संस्थाबाट राजीनामा दिएको हुँ’ भन्ने अभिव्यक्ति दिन थालेका छन् । उक्त संस्थाले धादिङमा पूर्वमन्त्री गंगालाल तुलाधरसँगको सहकार्यमा विभिन्न विकास कार्यक्रम पस्केको पनि बताइन्छ ।
प्रत्येक वर्ष नेपालमा एउटा स्कुल निर्माण गर्ने लक्ष्य राखेको भनिएको एसीए जापानका अध्यक्ष सुगिमोतोले जापानी दातालाई भ्रममा पार्दै उनीहरूबाट मोटो रकम असुलेर त्यो रकम अड्कलेर नेपाल भित्र्याउने र निर्माणका क्रममा तीस प्रतिशत स्थानीय व्यक्ति वा संस्थालाई लगानी गर्न लगाएर त्यो रकमसमेत आफैले कुम्ल्याउने गरेका भुक्तभोगीको कथन छ । राजधानीको बानेश्वरस्थित श्री भीमसेनगोला मावि निर्माणका क्रममा पनि सुगिमोतोले ठूलै आर्थिक बद्मासी गर्न खोजेका तर कुशल व्यवस्थापनका कारण स्कुललाई प्राप्त दान दुरुपयोग हुन नपाएको बताइन्छ । ‘दाता भनाउँदो सुगिमोतोले काठमाडौं महानगरपालिकाबाट प्राप्त सहयोगराशिबाट १८ लाख माग गरेको थियो, तर त्यो नपाएपछि ऊ पागलसरह भएको थियो,’ स्कुल व्यवस्थापन समितिका तत्कालीन कोषाध्यक्ष भरत ढकालले बताए ।
त्यस्तै, पोखरानजिकैको पर्यटकीय क्षेत्र धम्पुसमा निर्माण गरिएको आदिकवि भानुभक्त प्राविमा पनि सुगिमोतोले ठूलै आर्थिक बद्मासी गरेको बुझिएको छ । आदिकवि भानुभक्त प्रावि निर्माण गर्न दातासँग लिएको रकमबारे पनि कुनै जानकारी नभएको बताइन्छ । दातासँग लिएको रकम जापानमै आफ्नो खातामा जम्मा गरेर सुगिमोतोले नेपालमा आवश्यकताअनुसार रकम स्थानान्तरण गर्ने गरेको पाइएको छ । संस्थाको हरहिसाब अपारदर्शीमात्र नभएर सुगिमोतोको एक्लो पहुँचमा बैंक खाता सञ्चालन हुनुले पनि उनले जापानबाट नेपालका लागि भनेर लिएको ‘दान’ रकममध्ये के-कति रकम नेपाल भित्र्याए र नेपालमा खर्चपर्चको हरहिसाब कसरी राखिएको छ भन्नेमा आशङ्का पैदा भएको छ । एसीए जापानको स्थापनादेखि नै त्यहाँको इन्जिनियरको जिम्मेवारी सम्हाल्दै आएका ओभरसियर होमबहादुर बस्नेतले सुगिमोतोको ठगी धन्दामा सघाउँदै आएको बताइन्छ भने स्कुलका प्रध्यानाध्यापक लालबहादुर भण्डारी र अध्यक्ष पसबहादुर गुरुङले समेत सुगिमोतोको ‘हो मा हो’ मिलाउने गरेका छन् । सुगिमोतोकै आदेशमा उनले निर्माणको अनुमानित लागत दोब्बर बढाइदिने मात्र नभएर निर्माणका क्रममा गुणस्तरमा समेत प्रश्न उठ्ने गरी आर्थिक दुरुपयोग गर्ने गरेको जानकारीमा आएको छ ।
यसरी आफूलाई नेपालको ‘दाता’ भन्न रुचाउने सुगिमोतोले जापानमा नेपाल र नेपालीबारे विभिन्न टिठलाग्दा तस्बिर प्रदर्शन गरेर त्यहाँका ठाउँठाउँमा राखिएका दानपेटीमा जापानीले दयाका साथ गरेको ‘दान’माथि समेत गिद्देदृष्टि राख्ने गरेको रहस्य एसीए जापानकै पदाधिकारीबाट खुलेको छ । जापानमा खानबस्नै समस्यामा पर्न थालिसकेका सुगिमोतो नेपालमा एसीए जापानको अध्यक्ष भएर आएपछि भने करोडौंपति भएको बताइन्छ । संस्थाको रकममाथि ब्रह्मलुट मच्चाउँदै जीवनशैली नै परिवर्तन गरेका सुगिमोतोको दैनिकी देखेपछि स्वयम् जापानस्थित एसीएकै पदाधिकारीले समेत सुगिमोतोको नियतमाथि आशङ्का गर्न थालेका छन् ।
यसैबीच केही समयअघि सुगिमोतोले जापानी भाषा स्कुल खोलेर दोहोरो ठगीको प्रयास गरे पनि त्यो ठगी धेरै दिन टिक्न नपाएको बुझिएको छ । भाषा प्रशिक्षणका नाममा भाषा स्कुललाई मेनपावर कम्पनीभन्दा चर्काे आर्थिक बद्मासीको थलो बनाउन थालिएपछि त्यस भाषा स्कुलका सञ्चालक भरत ढकालले ढोकामा ताल्चा मारिदिएको खबर छ । एसीए जापानका कन्ट्री डाइरेक्टरसमेत रहेका भरत ढकाललाई उक्साएर भाषा स्कुल खोल्न लगाएका सुगिमोतोको विभिन्न ठगी नियत थाहा पाएपछि उनले भाषा स्कुलमा ताला लगाइदिने मात्रै होइन, एसीए जापानको कन्ट्री डाइरेक्टर पदबाट समेत राजीनामा दिएका छन् । ‘जसलाई पनि जापान लैजान्छु र रोजगारी दिलाउँछु भन्दै मोटो रकम असुल्ने गरेको रहेछ, भाषा सिकेर पोख्त भइसक्दा पनि जापान लैजानेबारेमा आलटाल गर्न थालेपछि कार्यालय र्घेनेको भीड लाग्न थालेपछि र्सतर्क हुनैपर्‍यो,’ उनले भने ।
यस्तै, सामुदायिक स्कुलका शिक्षकलाई गुणस्तरीय प्रशिक्षण दिने नाममा जापानबाट प्राप्त अनुदान रकमसमेत केही निजी स्कुलका सञ्चालकको इशारामा लुँड्याइएको बताइन्छ । शिक्षक ट्रेनिङका नाममा जापानबाट प्राप्त बीसौं लाख रुपैयाँ एकहप्ते शिक्षक प्रशिक्षणका नाममा सकिएको बुझिएको छ । राजधानीका दुर्गम क्षेत्र डुकुछाप, छम्पी, नाङलेभारेजस्ता विकट इलाकाबाट आएका शिक्षकलाई दिनको सय रुपैयाँ मात्र ट्रेनिङ भत्ता दिएर निजी स्कुलका सञ्चालकले नक्कली बिलभर्पाईका आधारमा ‘क्लोजिङ सेरोमोनी’ भन्दै स्कच हि्वस्की र वाइनको खोलो नै बगाएका थिए भने आफूहरू उक्त प्रशिक्षण शिविरको भोलेन्टिएर भएको बताए पनि मोटो रकम बुझेको भर्पाईमा भएको हस्ताक्षरले भने अहिले पनि ‘कुरीकुरी’ गरिरहेको देख्न सकिन्छ । धनका लागि मात्र नभएर सुरापान र सुन्दरीमा समेत कमजोर मानिने सुगिमोतोले नेपालमा थुप्रै चेलीको अस्मितामाथि खेलवाड गरेकोसमेत बताइएको छ । बालुवाटारमा कार्यालयसहितको निवास भाडामा लिएर बसेका सुगिमोतोले उक्त घरलाई क्याबिन रेस्टुरेन्ट जस्तै तुल्याएको त्यहाँभित्र देखिने सिग्नेचर हि्वस्कीका खाली बोतलले प्रस्ट्याउने समाचार स्रोतको कथन छ । सविना लामा नामकी शंखमुलको सुकुम्बासी टोलमा हुकेबढेकी एक युवतीलाई श्रीमतीकै दर्जा दिएर सुगिमोतोले उनीमाथि गरेको यौनशोषणको चर्चा एसीए जापानमा मात्रै नभएर स्वयम् सुगिमोतोलाई बोकेर हिँड्नेहरूले पनि गर्ने गर्छन् । संस्थाभित्र सुगिमोतोले गर्ने गरेको आर्थिक बद्मासीको पोल खोलिदिएको शङ्काकै आधारमा एसीए जापानको कार्यालयबाट आउट गरिदिएपछि सविनाको अवस्था लामो समयदेखि अज्ञात छ ।
यसरी लगातार आफ्ना कर्तुत सार्वजनिक हुन थालेपछि जतिसक्दो छिटो सुगिमोतोले जापान र्फकने तरखर गर्न थालेको पनि बुझिएको छ भने नौ वर्षदेखि नगरकोटमा माक्स (मुखुण्डो) बनाउने पेसामा लागेका दोलखाका चन्द्र तामाङ आफूलाई सुगिमोतोले विभिन्न प्रलोभन दिएर गरेको लाखौँ ठगीको सन्दर्भलाई लिएर जापानी दूतावास र प्रहरीमा उजुरी गर्ने तरखरमा छन् । -हेमराज लम्साल