प्रदेश २ का पाँच हजार छोरी बिमित

प्रदेश २ का पाँच हजार छोरी बिमित


प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा शिविरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बिमित भएका छन् ।

०७५ साल माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरी दिने घोषणा गरेको थियो । सोहीअनुरूप मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यका साथ शिविरमार्फत माघ १० गतेसम्म पाँच हजार ४० छोरीले बिमा गराएका हुन् ।

बिमा गराएकी बालिकाले २० वर्षपछि एकमुष्ट रु. एक लाख २५ हजार पाउने कुरा मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए । शिविरमार्फत सप्तरीमा ८८८, सिराहामा ६६३, धनुषामा ३४६, महोत्तरी ६४५, सर्लाही ७६८, रौतहट ४६२, बारा ८०५ र पर्सामा ४६३ छोरीले बिमा गराएका छन् । बिमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकजनाको नागरिकता र बच्चा तथा अभिभावकको ६–६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी व्यवस्था गरेको छ ।

शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरू, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ । माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको वीरगञ्जका साथै आठवटै जिल्लामा एकसाथ शुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालित रहनेछ ।

शिविर महानगरमा चार, उपमहानगरमा तीन, नगरपालिकामा दुई र गाउँपालिकामा एक दिन सञ्चालन गरिने व्यवस्था छ । साथै शिविरमा बिमा गराउने बालिकाको परिवारले तीन महिनाका लागि सुबिसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेका छन् ।
rss