मेडिकल कलेज सञ्चालक अन्सारीको घरमा कुकर बम

मेडिकल कलेज सञ्चालक अन्सारीको घरमा कुकर बम


वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीको घरमा सोमबार प्रेसरकुकर बम भेटिएको छ । बिहानै शंकास्पद वस्तु फेला परेकोमा प्रहरीले प्रेसरकुकर बम भएको पुष्टि गरेको छ ।

वीरगञ्ज महानगरपालिका–पानीटंकी गल्लीमा रहेको सञ्चालक अन्सारीको घरको मूलगेटमा कालो रंगको झोला भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले झोलाभित्रको वस्तु कुकर बम भएको बताएको छ ।

नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका सञ्चालक अन्सारीको घरको गेटमा बिहान शंकास्पद झोला देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम हुन सक्ने भन्दै सेनाको डिस्पोजल टोली बोलाएको थियो । झोलाभित्र डेटोनेटेर, ब्याट्री र विस्फोटक पदार्थसहितको प्रेसर कुकर बम भेटिएको नेपाली सेनाले जनाएको छ ।

अन्सारीको घरअगाडि रहेको एक कलेजको सीसीटीभीमा बिहान २ बजेतिर एकजना अपरिचित व्यक्ति आएर उक्त झोला ल्याएर गेटमा राखेको देखिएको छ । प्रहरीले उक्त व्यक्तिको खोजी भइरहेको जनाएको छ ।