कोबीको निधनमा राष्ट्रपति ट्रम्पद्वारा शोक व्यक्त

कोबीको निधनमा राष्ट्रपति ट्रम्पद्वारा शोक व्यक्त


विश्व चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टको क्यालिफोर्निया (अमेरिका)मा हेलिकोप्टर दुर्घटनाबाट निधन भएको छ । ४१ वर्षीय कोबीको निजी हेलिकोप्टरमा अन्य चारजना सवार थिए, जसमध्ये उनकी १३ वर्षीया छोरी गियाना पनि थिइन् । सो दुर्घटनामा हेलिकप्टरमा सवार चारैजनाको मृत्यु भएको छ ।

बास्केटबल खेलका महान् खेलाडीको रुपमा गनिने कोबीको निधनसँगै यतिबेला उनका प्रशंसक शोकमा डुबेका छन् । स्थानीय समय अनुसार आइतबार बिहान १० बजे दुर्घटना भएको थियो । बाक्लो कुहिरोका कारण दुर्घटना भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले बताएका छन् । बाक्लो कुहिरोका कारण रेस्क्यू अपरेशनमा पनि निकै कठिनाई उत्पन्न भएको थियो ।

२० वर्ष लस एन्जलस लेकर्स क्लबबाट खेलेका कोबीले आफ्नो दुई दशकको खेल जीवनमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । यस अवधिमा उनले आफ्नो क्लबलाई पाँच पटक एनबीए उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पूर्व एनबीए खेलाडी जो जेलीबीन ब्रायन्टका छोरा कोबीको जन्म २३ अगस्त १९७८ मा फिलाडेल्फियामा भएको थियो । कोबी २३ वर्षको उमेरमै महत्वपूर्ण तीनवटा उपाधि जित्ने पहिलो युवा खेलाडी बनेका थिए । कोबीको कप्तानीमा संयुक्त राज्य अमेरिकाको बास्केटबल टोलीले सन् २००८ को बेइजिङ ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । यी दुई ओलम्पिकमा अमेरिकालाई स्वर्ण पदक दिलाएपछि कोबी विश्वकै चर्चित बास्केटबल खेलाडी बन्न पुगेका थिए ।

उनले २२ जनवरी २००६ मा टोरेन्टो रेप्टर्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शन अविष्मणीय बन्न पुगेको छ । उक्त खेलमा उनले व्यक्तिगत ८१ अङ्कको स्कोर गरेका थिए । कोबीभन्दा अघि सन् १९६२ मा विल्ट चन्बरलेनले व्यक्तिगत १०० अङ्कको स्कोर गर्दै कीर्तिमान बनाएका थिए । त्यस्तै आफ्नो खेल जीवनको उत्तरार्द्ध अर्थात् सन् २०१६ मा ३७ वर्षको उमेरमा पनि कोबीले आफ्नो अन्तिम खेलमा ६० अङ्कको स्कोर गरेका थिए ।

कोबी सधैं भन्ने गर्थे– बास्केटबल मेरो जीवन हो, मलाई यो खेलको सबै कुरा मनपर्छ, मेरो लागि बास्केटबल जीवनको एउटा हिस्सा हो ।’ आफ्नो उत्कृष्ट खेल करियरमा कोबीले ३३ हजार ६ सय ४३ अङ्कको स्कोर गरेका थिए । उत्कृष्ट खेल क्षमताका कारण कोबीलाई १८ पटक ‘एनबीए अल स्टार’ खेलाडीको रुपमा चुनिएको थियो ।सर्वप्रथम सन् २००८ मा एनबीएको सबैभन्दा उपयोगी खेलाडीको रुपमा कोबीलाई चुनिएको थियो ।

सन् २०१६ मा सक्रिय बास्केटबल खेलबाट सन्यास लिएपछि कोबीले बच्चाहरूका लागि एउटा पुस्तक ‘डियर बास्केटबल’ समेत लेखेका थिए । उनको यो पुस्तकबाट एक लघु फिल्म बन्ने भएपछि उनले उक्त फिल्मको स्क्रिष्ट समेत लेखेका थिए । गत साल यो फिल्मले सर्वश्रेष्ठ लघु फिल्मको पुरस्कार जितेको थियो ।

कोबीको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि विश्वका चर्चित व्यक्ति–व्यक्तित्वहरूले दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत कोबीको निधनमा शोक व्यक्त गरेका छन् । विश्वकै महान् खेलाडी भएर पनि उनी आफ्नो जीवनको दोश्रो चरण सुरु गर्दै भविष्यको लागि आशावादी थिए । यस्तोमा उनको निधनले ठूलो क्षति पुगेको समवेदनामा भनिएको छ । अझ यस दुर्घटनामा छोरी गियानाको निधनले घटनालाई निकै दुःखद बनाएको ट्रम्पले बताएका छन् । त्यस्तै, अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले पनि कोबीको निधनमा शोक व्यक्त गरेका छन् ।