राष्ट्रपति भवनभित्र सभामुखको शपथ, बाहिर अधिकारकर्मीको विरोध

राष्ट्रपति भवनभित्र सभामुखको शपथ, बाहिर अधिकारकर्मीको विरोध


सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख अग्नि सापकोटालाई पद तथा गोपनीयताको शपथ गराइरहँदा निवासबाहिर भने अधिकारकर्मीले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार संसद बैठकमार्फत सर्वसम्मत सभामुख चयन भएका सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार बिहान ११ बजेपछि राष्ट्रपतिनिवास शीतलनिवासमा विशेष कार्यक्रमबीच शपथ लिइरहँदा त्यसको विरोधमा राष्ट्रपति कार्यालयबाहिर भने प्रदर्शन भएको थियो ।

हत्या अभियोग लागेका सापकोटालाई सभामुखको शपथ नगराउन दबाब दिन आयोजना गरिएको विरोध कार्यक्रमबाट प्रहरीले अधिकारकर्मी चरण प्रसाईंसहित ११ जनालाई पक्राउ गरेको हो । प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरिएकोले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

माओवादी युद्धका बेला ०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर सापकोटाकै निर्देशनमा हत्या गरेको आरोप उनीमाथि छ । उनीविरुद्धको सो मुद्दा संवैधानिक अदालतमा अहिले पनि चलिरहेको छ । विरोध प्रदर्शनमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया तामाङ पनि सहभागी थिइन् ।