जनसम्पर्क समिति (अष्ट्रेलिया) एकताबद्ध हुने

जनसम्पर्क समिति (अष्ट्रेलिया) एकताबद्ध हुने


■ राजन घिमिरे, सिड्नी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले प्रवासमा रहेका प्रजातान्त्रिक सोच बोकेका सबै एक हुनुपर्ने बताएका छन् । फुटेर कोही अघि बढ्न नसक्ने भन्दै उनले जुटेर काम गर्न सुझाव दिएका हुन् ।

जनसम्पर्क समिति अष्ट्रेलियाको अधिवेशनमा सहभागिता जनाउन सिड्नी आएका नेता साउदले भने– ‘दश दिन बसियो, सबैसँग भेट्न अझै समय पुगेन, तर जे–जति भेटघाट भए, यस क्रममा विभिन्न असन्तुष्टि र गुनासा रहेको अनुभूति पनि गरियो । अष्ट्रेलियामा रहेका साथीहरूका सल्लाह–सुझाव तथा गुनासााहरू स्वदेश पुगेर पार्टीको केन्द्रीय छलफलमा राख्ने छु ।’

कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री सरोज अधिकारीले अष्ट्रेलियाको नेपाली समाज र जनसम्पर्क समितिलाई बलियो बनाउन लाग्नुपरेको धारणा अघिसारे । उनले अगाडि भने– ‘यहाँ बिनाकारण विवाद देखियो तर अब यो विवाद हट्ने छ । सबैले यसमा ध्यान दिनुपर्छ कि सबै एक ढिक्का भइयो भने कुनै समस्या रहँदैन र कसैले अनावश्यक खेल्न पनि पाउँदैन । यो अधिवेशनले अष्ट्रेलियाभरि छरिएर रहेका साथीहरूलाई समेट्नु पर्छ ।’

सिड्नीमा आयोजना गरिएको भए पनि कार्यक्रममा सहभागिता जनाउन अष्ट्रेलियाका अन्य शहरहरूबाट समेत डेमोक्रेटिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल महिला संघकी महासचिव मन्जु खाणले नेपाली कांग्रेस सानो कुरा र विवादले फुट्ने पार्टी नभएको जिकिर गरिन् । ‘हाम्रो लचिलो स्वभाबबाट गलत सोच भएकाहरूले फाइदा उठाउन खोज्छन्, त्यसैले पनि एक भएर अगाडि बढ्नुको विकल्प छैन’, उनको तर्क थियो ।

कार्यक्रमका संयोजक शितल खाण गिरीले आफूहरूबीच फुट नरहेको दाबी गर्दै नेपाली कांग्रेस सधै मेलमिलाप र सद्भावका साथ अगाडि बढ्ने पार्टी रहेको धारणा राखे । प्रवासमा रहेका नेपालीहरूले यो कुरा शिरोधार्य गरेका भन्दै उनले आगामी दिनमा प्रवासबाट मेल मिलाप र आपसी सद्भावको उदाहरण प्रस्तुत हुने बताए ।

जन सम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले नेपालबाट सहभागिता जनाउन आउनुहुने सबैप्रति आभार व्यक्त गर्दै भने– ‘म पदको लोभमा लागेको छैन । अष्ट्रेलियामा सबैको मान्य हुने र एकताको सन्देश जाने जन सम्पर्क समिति खडा गर्नु छ । म पार्टीले दिएको त्यही जिम्मेवारी पूरा गर्न लागेको छु ।’ आफू पार्टीको विधान र मर्यादाअनुसार अगाडि बढ्ने जानकारी उनले दिए । ‘आउनुहोस्, ब्यक्तिगत इगो र इर्ष्या छोडेर संस्थाको निम्ति एक बनौँ । हामी सबै एक भयौँ भने हाम्रो उद्देश्यमा कसैले भाँजो हाल्न सक्दैन ।’