दरबारभित्रै पसेर साधुद्वारा राजाको हत्या

(इतिहास)

काभ्रेपलाञ्चोक जिल्लाका पलाञ्चोकका टिप्पामा गढी बनाएर परशुराम थापा आफ्ना भैयाद बगाले थापाहरूलाई राखेर आफू भक्तपुरका नजिकैमा घरबास गरेर रणजित मल्लको सेवा गरिरहेका थिए । काभ्रेपट्टिका भमरकोट, दाप्चा, फूलबारी आदिबाट पनि गोर्खालीको शासन हटेको हुनाले ती गाउँहरूमा अराजकता फैलिरहेको थियो । गोर्खालीको शासन हटेपछि महादेवपोखरीको गढी बिरान भएको हुनाले परशुराम थापाले काभ्रेमा नयाँ गढी बनाई त्यहाँ रक्षक दल पनि नियुक्त गरेका थिए ।



श्री ५ पृथ्वीनारायण शाहले पानी कम भएको पलाञ्चोकको गढी दखल गर्न गाह्रो छ भनेर खुब छानिएका सेनापति र सैनिक पठाए । पलाञ्चोकको गढी अग्ला टिप्पामा रहेको हुनाले त्यहाँ फेदीबाट पानी पुग्न गाह्रो थियो । यस कारणले गोर्खाली सैनिक दलले साइतका दिनभन्दा १५–२० दिन पहिलेदेखि नै करिब १००० सैनिकद्वारा ठाना बार्दै गएर किल्लामा नाकाबन्दी गरी शत्रुहरूलाई अत्याएपछि साइतका दिन सिरानचोकगढीका उमराव बाघ भीमसिंह थापालाई अघि लगाएर गोर्खाली सैनिकले किल्ला फोरी आक्रमण गर्दा घमासानको लडाइँ भयो । भीमसिंह थापासहित गोर्खाली सैनिक र पलाञ्चोके थापा सैनिक पनि प्रशस्त खेत रहेपछि गोर्खालीको जित भयो र शत्रुहरूले हतास भई गढी खाली गरिदिए (१७ जनवरी, १७६०) । दोस्रो दिन काभ्रेका गढीमा पनि आक्रमण भयो र शत्रुहरूले हारी भागेर किल्ला छोडिदिए । यस काभ्रेपलाञ्चोक जिल्लाको रक्षाका निमित्त एक नवयुवक रामकृष्ण कुँवरलाई श्री ५ पृथ्वीनारायण शाहले नियुक्त गरिदिँदा यिनी भमरकोटमा घरबार गरी त्यहाँका स्थायी बासिन्दा बने ।

ललितपुरका राजा विश्वजित मल्लले एक प्रमानकी बुहारीलाई जारी गरेर ल्याएका थिए । एक दिन यिनै जारी गरेर ल्याएकी मैजुलाई साथमा लिएर राजदरबारको सुनझ्यालमा बसी बाहिरको दृश्य हेरिरहेको समयमा साधुले देखेर रिस थाम्न नसकी तलबाट ढुङ्गाले झटारो हानेर भागे । साथमा रहेका प्रमानहरूले त्यस साधुलाई पक्रन सिपाही पठाई आफू घरघरतिर लागे । साधु र उनका भाइसमेत मिली हातहातमा तरबार लिएर सिपाहीलाई र राजदरबारका ढोके र अरू रक्षकलाई समेत हटाई चोटामा पुगेर तलेजुका स्थानमा लुकिरहेका विश्वजित मल्लको काम तमाम गरी (७ सेप्टेम्बर, १७६०) फरक्क फर्केर भागी उनीहरू मधेश पसे । ललितपुरका प्रमानहरूले राजा थाप्न योग्य देखिएका ठकुरी नपाई कान्तिपुरका राजा जयप्रकाश मल्लसँग प्रार्थना गरी उनलाई ललितपुरमा बोलाएर त्यहाँका पनि राजा बनाई मणिमण्डपमा राखेर मुकुट पहिराइदिए ।

हुन त ललितपुरको प्रशासन अलग्गै रहेको हुनाले जयप्रकाश मल्ल नाम मात्रका राजा थिए । तैपनि समयसमयमा राजाले गर्नुपर्ने सांस्कृतिक कार्य गर्नाका निमित्त ललितपुरमा आएर उनले बस्नुपर्दथ्यो । राजा सिद्धिनरसिंह मल्लले बनाएको मूलचोकनामक राजभवनमा विश्वजित मल्ल मारिएका हुनाले त्यो अपवित्र भएको हुँदा जयप्रकाश मल्लका आज्ञाअनुसार तलेजुका मन्दिरदेखि उत्तरपट्टि कैयौँ शताब्दी पहिलेदेखि खण्डहर पन्छाई मंगलहिटीका समीपका बडो चोक भएको चौघरा राजभवन बनाएर त्यसैका पश्चिममोहडाका झ्यालहरूमा पुराना राजभवनका सुनका मोलम्मा भएका झ्यालका पाताहरू झिकेर ल्याई जडेर नयाँ सुनझ्याल बनाइएको हुनाले यही नयाँ राजभवन मूलचोक र सुनझ्याल कहिन थियो ।

कान्तिपुर र ललितपुरका राजा र प्रमानहरू टम्म मिलेका हुनाले श्री ५ पृथ्वीनारायण शाहले भक्तपुरका ठकुराईतिर दृष्टि दिए । काठमाडौं उपत्यकादेखि पूर्वपट्टि रहेका साँगा–नालादेखि चौकोट–धुलिखेलसम्मका सात गाउँलाई घेर्न र अरू जितिएका दाप्चा, फूलबारी, नाम्मुढा आदि बस्तीमा शत्रुको आक्रमण हुन नसक्ने गरी इ.सं. १७६० का नोभेम्बरदेखि नै गोर्खालीले किल्लाबन्दी गरिराखेका थिए । अब रणजित मल्लका अधिकारमा रहेको सबभन्दा ठूलो बस्ती भएको धुलिखेल दखल गर्न भनी त्यस गाउँमा गोर्खाली सेनाले घेरा दिँदा धुलिखेलका बासिन्दाहरू मुकाबिला गर्न तयार भए । यसकारणले पहिले त्यसभन्दा सानु चौकोट दखल गरेर मात्र पछिबाट धुलिखेल दखल गर्ने तजबीज गरी गोर्खाली सेनापति, अफिसर र सैनिकसमेतले चौकोटमा घेरा दिन लाग्दा त्यहाँका द्वारे महिन्द्रसिंह रायले बालक, बूढा र आइमाईलाई धुलिखेलतिर पठाई मुकाबिलाका निमित्त कम्मर कसे । साइतका दिन गोर्खालीको आक्रमण हुँदा घमासान लडाइँ भयो ।

आखिरमा महिन्द्रसिंह राय मारिँदा र उनका भाइ नरसिंह राय घायल भई गाउँ छोडेर निस्कँदा त्यस गाउँका नवयुवकहरूले चारैतिरबाट गाउँमा नै आगो लगाएर गाउँ खाक गरिदिए (८ जन. १७६१) । नरसिंह राय सख्त घायल थिए । बचेर पनि रणजित मल्लले समयमा सहायता नगरेका हुनाले यिनी तीनै मल्ल ठकुराईलाई छोडेर चौबीसी ठकुराईमा गएर बसे । यो समाचार पाएपछि आर्थिक सङ्कट नपारी यी सात गाउँ पनि दखल नहुने देखेर श्री ५ पृथ्वीनारायण शाहले यिनमा नाकाबन्दी कडा गर्नु भन्ने आज्ञा रामकृष्ण कुँवरलाई पठाएर केही कालका निमित्त खामोसी लिए ।

(‘श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहको जीवनी’बाट)

प्रतिक्रिया