एपीएफ र न्यू डायमन्डबीच उपाधि भीडन्त हुने

एपीएफ र न्यू डायमन्डबीच उपाधि भीडन्त हुने


महिला भलिबलका चीर प्रतिद्वन्द्वी एपीएफ र न्यू डायमन्डबीच उपाधिका लागि भिडन्त हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा भएको पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को माघ ९ गते सम्पन्न सेमिफाईनलमा एपीएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ ले पराजित गर्दै होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लब संगको भेट पक्का गरेको हो ।

अर्को खेलमा होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लबले सेनाको टिएसीलाई ३–० ले पराजित गऱ्यो । डायमन्डले टिएसीमाथि २५–१५, २५–२२, २५–१३ को जित निकालेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष तर्फ सेमिफाईनलमा दुई विभागिय टोली एपीएफ र सेनाको टिएसी विचको खेलमा एपिएफले बाजी मा¥यो । अघिल्लो संस्करणको विजेता टिएसीलाई २५–२२, २५–२२, २६–२४ को सेटमा पराजित गर्दै एपिएफ उपाधी नजिक पुगेको हो ।

अव एपीएफले उपाधिका लागि हेल्प नेपाल स्पोर्टस् क्लब संग प्रतिस्पर्धा गर्ने छ । तीन भारतिय खेलाडी र भारतिय सेनाका नेपाली खेलाडीहरु सम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित गर्दै एपिएफ संगको भेट पक्का गरेको हो ।

भारतिय खेलाडीलाई प्राथमिकतामा राख्ने हेल्प नेपालले अघिल्लो संस्करणमा सहभागिता जनाएता पनि खेलाडी बिबादका कारण प्रतियोगिता छोडेको थियो ।

च्याम्पियनसिपमा बिजयी शिर्ष तीन टोलीले नगद २ लाख, १ लाख र ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडीहरुले नगद १० हजार र सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छन् ।