‘नालापानी’को इतिहास अब चलचित्रको पर्दामा

‘नालापानी’को इतिहास अब चलचित्रको पर्दामा


■ राजन घिमिरे, सिड्नी

नेपाल निर्माणको इतिहास वीरतापूर्ण र गौरवमय छ । यसको पछाडि ऐतिहासिकता र थुप्रै कालखण्डहरू जोडिएका छन् । नेपालको गौरवमय इतिहासमध्ये नालापानी पनि महत्वपूर्ण इतिहास हो ।

यस इतिहासबारे सुन्ने–सुनाउने क्रम त चलिआएको छ । तर, अब यो इतिहाससँग जोडिएका दस्तावेज र साक्षीका प्रमाण अनि ऐतिहासिक चित्रहरूलाई आँखाअगाडि नै देख्न र हेर्न पाइने भएको छ । यो स्वागतयोग्य र प्रशंसा गर्नलायकको काम गरेको छ चलचित्र ‘नालापानी’ र यसको निर्माण टिमले ।

नेपाल र नेपालीको गौरवमय इतिहास बनेको यही ‘नालापानी’ अब चलचित्रको रूपमा आउन लागेको छ । नालापानीको वर्ल्ड प्रिमियर अष्ट्रेलियाको सिड्नीबाट शुरू हुने भएको छ । चलचित्रलाई सिड्नीमा आरकेएस अष्ट्रेलिया र बाबा ऐजुकेसन कन्सल्टेन्सीले प्रस्तुत गरेको हो ।

‘हामी अन्य सांगीतिक सामाजिक र चलचित्रहरूलाई साथ दिएर सामाजिक क्षेत्रमा सहभागिता जनाउँंदै आएका छौँ । यसै क्रममा नालापानी जस्तो नेपाल बोल्ने र इतिहाससँग जोडिएको चलचित्रको पनि एक अंश हुन पाउने अवसरलाई नगुमाएका हौँ’, बाबा ऐजुकेसनका सिड्नी निर्देशक रवीन्द्रकुमार शर्माको भनाई छ ।

उनले नालापानी जस्तो ऐतिहासिक चलचित्र हेरेर नेपालको इतिहासको बारेमा जानकारी लिने अवसर नचुकाउन सिड्नीमा रहनुहुने नेपालीसमक्ष आग्रह गरे । हरेक वर्ग, क्षेत्र, पेशा, तह र तप्काका दर्शकहरूलाई बाँध्न सक्ने क्षमतासहित आउन लागेको चलचित्र नालापानी २२ र २३ फ्रेबुअरीका दिन सिड्नीको बरूवडमा रहेको इभेन्ट सिनेमामा प्रदर्शन हुने छ भने फ्रेबुअरी २३ कै दिन सिड्नीको हर्सभिलमा रहेको इभेन्ट सिनेमा हलमा चलचित्र प्रदर्शन गरिने जानकारी दिइएको छ ।

रिमेश अधिकारीले निर्देशन गरेको यो चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिस्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मालगायतको अभिनय रहेको छ ।