घाम लागे पनि काठमाडौंमा केही दिन चिसो यथावत् रहने

घाम लागे पनि काठमाडौंमा केही दिन चिसो यथावत् रहने


काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान–बेलुका बढी चिसो महसुस गरिएको छ ।

अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताइन् ।

चिसो बढे पनि काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र बिस्तारै तापक्रम बढ्दै जाने उनको भनाइ छ । राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ । तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ ।

अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव आठ र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले तराईको हुस्सु, शीतलहरसम्बन्धी आज बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अपराह्नपछि बिस्तारै कुहिरो हटेर जानेछ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।
रासस