बागमती प्रदेशमा शहीद सप्ताह शुरु

बागमती प्रदेशमा शहीद सप्ताह शुरु


बागमती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौँडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रूपमा मनाउन लागिएको कार्यक्रमको आज (शुक्रबार) मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडाको बुद्धचोकमा शुभारम्भ गरे ।

साताव्यापी कार्यक्रमअन्तर्गत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यलगायत जनप्रतिनिधिको सहभागिता थियो । पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारणको सहभागिता थियो । बुद्धचोकबाट शुरु भएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो ।

बागमती प्रदेश सरकार र शहीद स्मारक विकास समिति हेटौँडाले आजदेखि यही माघ १६ गतेसम्म शहीद सप्ताह मनाउन लागेको हो । सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रममा म्याराथुन, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातिको मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम गरिने स्मारक विकास समितिले जनाएको छ ।
rss