भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोगविरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

छाडा कुकुरको संख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उनले बताए । विज्ञ केन्द्र र व्यास नगरपालिकाको संयुक्त आयोजनामा सामुदायिक कुकुरको बन्ध्याकरणका लागि बिहीबारदेखि शिविर आयोजना गरिएको छ । ‘छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको हो,’ डा. श्रेष्ठले भने ।

आजसम्म सञ्चालन हुने शिविरमा विज्ञ केन्द्रका तीन र पोखराबाट तीन विज्ञ चिकित्सक खटिएका छन् । बजार क्षेत्रमा कुकुर देखिए खबर गरिदिन विज्ञ केन्द्रले नगरवासीलाई आग्रह गरेको छ । छाडा कुकुरको बन्ध्याकरण गरिन थालेपछि बजारवासीले खुसी व्यक्त गरेका छन् ।
rss