अष्ट्रेलियामा पर्यटन वर्षको प्रचार-सहयोगी बन्दै ‘८८४८ मम हाउस’

अष्ट्रेलियामा पर्यटन वर्षको प्रचार-सहयोगी बन्दै ‘८८४८ मम हाउस’


■ राजन घिमिरे, सिड्नी

नेपालले मनाइरहेको पर्यटन वर्ष प्रचारप्रसारका विभिन्न देशमा आ-आफ्नै तरिकाले भइरहेको छ । यस सिलसिलामा अष्ट्रेलियाको ब्रिसबेनवासी होम प्यासी नेपाली मम र स्वादसँगै पर्यटन वर्षबारे पनि प्रचारप्रसार गरिरहेका छन् । आफ्नो ‘८८४८ मम हाउस’मा आउने स्वदेशी तथा विदेशी ग्राहकहरूलाई नेपाल घुम्न जान आग्रह गर्दै मम र नेपाली स्वाद चखाइरहेका छन् उनी । एउटा प्रवासी नेपालीले स्वःस्फूर्त तवरले आफ्नो जन्मभूमिप्रति निर्वाह गरेको यो कर्तब्य स्वागतयोग्य र प्रशंसनीय रहेको अष्ट्रेलियामा रहेका नेपालीहरुको भनाई छ ।

अब विदेशमा नेपाललाई चिनाउन सगरमाथा र बुद्धका अलावा नेपाली खानेकुरा (परिकार) पनि उत्तिकै सहायक सिद्ध अनुभूति हुन थालेको छ । अष्ट्रेलियाको ब्रिसवेननिवासी होम प्यासी र उनले सञ्चालन गरेको ८८४८ मम हाउस यतिबेला चर्चामा छ ।

प्यासीले नेपाली मःमको स्वादलाई ब्राण्डिङ मात्रै गरिरहेका छैनन् यसको फ्रेन्चाइज समेत बिक्री सुरु गरेका छन् ।

तीन वर्षदेखि अष्ट्रेलियाको ब्रिजवेनमा ‘८८४८ मम हाउस’ सञ्चालन गरेर वाहवाही कमाइरहेका प्यासी यो ब्राण्डलाई अष्ट्रेलियाभर विस्तार गर्न लागिपरेका छन् ।

प्यासी भन्छन्, ‘नेपाली स्वाद र मःमलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने उद्देश्यले नै मैले फ्रेन्चाइज बेच्न सुरु गरेको हुँ । सबैको साथ र सहयोग मिल्यो भने अब नेपाली मम र स्वादले अन्तराष्ट्रिय बजार पाउने छ ।’

ब्रिसबेनको केन्द्र मानिने भ्यालीमा रहेको मम हाउसमा अहिले २१ थरिका मःम बिक्री हुँदै आएको छ ।

नेपाली र अष्ट्रेलियनको घुइँचो लाग्ने मम हाउसले नेपाली मःमको प्रचारमा गरेको योगदानको सबैले प्रशंसा गर्ने गरेका छन् । छोटै समयमा नेपाली र विदेशी ममप्रेमीको लागि चर्चित र स्वादिष्ट खानेकुरा बनेको छ । मिठो मसलाका कारण पनि ८८४८ मम हाउसको ममको स्वाद भिन्न रहेको मम उपभोक्ताहरुको अनुभव छ ।

फ्रेन्चाइज बिक्रीबारे जानकारी पाएपछि ८८४८ ममको बारेका जिज्ञासुको संख्या बढ्न थालेको प्यासीले बताएका छन् ।