यमनमा सांसदको घरमा क्षेप्यास्त्र आक्रमण

यमनमा सांसदको घरमा क्षेप्यास्त्र आक्रमण


विद्रोहीहरुले यमनका एक जना सांसदको घरमा क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणमा परी एक जना बच्चासहित दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त र साउदी अरब नेतृत्वको सैन्य गठबन्धनको सहयोग तथा समर्थन रहेको सरकार र इरानले समर्थन गरेको विद्रोहीका बीचमा यमनमा सन् २०१४ देखि द्वन्द्व हुँदै आएको छ । त्यतिबेला विद्रोहीहरूले यमनको राजधानी साना आफ्नो नियन्त्रणमा समेत लिएको घोषणा गरेका थिए ।

बुधबार (२२ जनवरी) राति तीनै विद्रोहीहरुले सांसद मोस्साद हुसेन अल सावदीको घरलाई लक्षित गरी मारिब प्रान्तमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । राजधानीदेखि पूर्वतर्फ रहेको घरमा आक्रमणमा परी ती सांसदका बुहारी र १६ वर्षीया नातिनीको मृत्यु भएको सावा समाचार संस्थाले उल्लेख गरेको छ ।

‘आक्रमणमा परी सांसद सावदी गम्भीर घाइते हुनुभएको छ, उहाँसँगै उहाँको परिवारका अन्य तीन जना पनि घाइते भएका छन्,’ मारिबका अपराध अनुसन्धान विभागका निर्देशक हुसेन अल हुलेसीले बताए । क्षेप्यास्त्रका कारण घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने स्थानीय बासिन्दा र छिमेकीहरु त्रासपूर्ण अवस्थामा रहेका हुलेसीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

यमनका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि मार्टिन ग्रिफिथ्सले घटनाको निन्दा गर्दै सैन्य सुरक्षा तत्काल बढाउन आह्वान गरेका छन् ।

तुलनात्मक रूपमा केही महिना अगाडिभन्दा अहिले बढी शान्ति सुरक्षाको महसुस गरिरहेका बेला यस्तो आक्रमण भएको हो ।

राष्ट्रसङ्घीय प्रतिनिधि ग्रिफिथ्सले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– सांसदलाई र आम नागरिकलाई लक्षित गरेर यस्ता आक्रमण हुनु क्षम्य हुनसक्दैन, यो अन्तर्राष्ट्रिय कानूनहरुको उलङ्घन पनि हो ।

गत शनिबार मारिबस्थित सैनिक शिविरमा आम नागरिकसहित ११६ जनाको मृत्यु हुनेगरी क्षेप्यास्त्र आक्रमण भएको केही दिनपछि यो घटना भएको छ । त्यस हवाई आक्रमण हुथी विद्रोहीले गरेको आरोप लगाइएको थियो ।