असफल सिसिफस

असफल सिसिफस


बलराम सिलवाल

नेपाली परदेसिएका छन्– सम्पत्ति कमाउने लोभले । आखिर त्यो सम्पत्ति के हो, जसले मनुवालाई दास तुल्याएको छ । असीमित धनको लालसा कालको निम्तो हो । राजा मर्दा उनीले छातीमा एक माना चामलबाहेक के लगे र ? सबै मानिस बुद्ध हुन सक्दैन । उनीले रोगी, वृद्व र मृतकबाट बुद्वत्व प्राप्त गरे । यहाँका मान्छे सयौँपल्ट मलाम गएका छन्, लासको मनोविज्ञान बुझेका छन्, परन्तु फर्केर आएपछि लोभलालसा छोडदैनन् । आखिर सागरमा जस्तो मन भइदिए हुने थियो ।

फिलिपिन्सले वेश्यावृत्तिबाट अकुत सम्पत्ति कमायो, किन्तु त्यो सम्पत्तिको के काम ? सामाजिक विचलन, पारिवारिक विखण्डन तथा अपसंस्कृतिको आयात ! मौलिक संस्कृति बिग्रियो, परिवार–समाज भाँडियो । पुराना राजाले विदेश गएर सीप सिकी स्वदेशमा सो सीपको सदुपयोग गर्न निर्देशन दिन्थे । अचेलका गणतन्त्रे सामन्ती राजाले सीप दुरुपयोग गरेर आफ्नो मुलुकको मानवीय संसाधनलाई विप्रेषणको लोभमा विदेशमा बेच्दो छ ।

तेल भिसामा गएकाहरू हुन् वा नेपालीत्व त्यागेकाहरू स्वदेशमा आउँदा सीप सदुपयोग गर्नु त कता हो कता यहाँ आएर धक्कु लगाउँछन् । धिक्कार छ धुन्धुकारीहरूलाई । परदेशमा विदेशीको आची फालेका वा च्यान खनेका होलान्, स्विमसुट पहिरेको तस्बिर सामाजिक सञ्जालमा हाल्छन्, यहाँ भएका लाटासोझालाई लोभ्याउँछन् । विदेश जाने संस्कृतिले अपसंस्कृति भित्र्याएको छ । छोडपत्र गर्नेको ताँती छ । वृद्वाश्रम बढ्दो छ । पारिवारिक झैझगडा । सुखशान्ति गायब । आखिर त्यो सम्पत्ति मर्दाखेरि आफूसित लैजान सकिने होइन । जीवन निर्वाह गर्ने सम्पत्ति भए पुगिगो नि बढी असन्तोकी हुनु किन ? कणारोको बिगबिगी, ठिमाहाको चकचकी ।

अल्पसङ्ख्यक नेपाली सकारात्मक, इमानदार र सत्यवादी छन्, सन्देह गर्नु छैन । परन्तु, बहुसङ्ख्यक लुच्चा, चम्चा, फटाहा, डाँका, ठग र झुटावादी छन् । मानवीयता एक थोपो छैन, सम्पत्ति सम्पत्ति सम्पत्ति फगत सम्पत्ति, केवल सम्पत्ति, मात्र सम्पत्ति । नराम्रो सुन्ने बानी छ, राम्रो सुन्ने कान छैन । सुसमाचार फैलिँदैन, कुसमाचार फैलिन्छ । आफ्नो कान छाम्दैन, कौवाको पछि दगुर्छ । यही हो नेपाली समाजको घातक प्रवृत्ति । पैसा खुवाउनेलाई भोट दिन्छ, बुद्विको बिर्को कहिले खुल्ने होला । हजारौँ वर्षसम्म जाक्किरहन्छ, निकृष्टत्तम खाल्टोमा । सकारात्मकता व्यर्थ । बोलचाल छैन, सबै चारपाटेमा घोप्टो परेका छन् ।

यो कस्तो जुगजमाना आएको होला ? तपाईंले रामकृष्णलाई महात्मा भन्नुभो भने कोही पत्याउँदैन किन्तु उसलाई पागल भन्नुभो भने सबै पत्याउँछन् । अजब दुनियाँ, गजब दुनियाँ । मान्छे मरेपछि तेह्र दिनसम्म दुनियाँले सम्झन्छ, त्यसपछि बिर्सन्छ । सत्कर्म रहिरहन्छ । चड्के पड्के कड्के ठीक, चिप्ले पिप्ले खिप्ले बेठीक । सर्वत्र लाजको पसारो । विषादी खानपान, दिमागी तन्तुको विनाश । युवाशत्तिल बिदेसिएको, छिमेकीले सीमा मिचेको । परदेसिनेको घरमा चिन्ता, तनाव, विखण्डन र मनमुटाव । दशकभित्र सबकासब सत्यानास सर्वनाश । जस्तो काम त्यस्तै परिणाम । जुवाडे जँड्याहाको कर्मनाश । एघार नम्बर साधारण, बाह्र नम्बर आडम्बर । जुन गोरुको सिङ छैन, उसको नाम तिखे । पागलखानामा रमिता । आफू भलो त जगत भलो । परोपकार पुण्याय पापाय परपीडनम् ।

लोकतन्त्रले उखान खायो, जङ्गे ऐनले मुलुक माऱ्यो । गणतन्त्रमा छाडातन्त्र । मर्यादा रहेन । पहिले पुलिस देख्दा डराउने, अहिले आईजीपी देख्दा नडराउने । कस्तो कमाल । सरकारी काम, कहिले जाला घाम । कानुन अन्धो । म्लेच्छ यवनको मनपरी । भोटको भोटे काम तेरो चोटे । मुलुक बेच्ने मेलो, पैसाको छेलोखेलो । निकृष्ट जीव गुहेकिरोझैँ मर्छ । रोगेत्रो काजी विकासको सत्यानाश । प्रयोगकर्ताको प्रयोग । दुर्मुखाको दुर्मुख । धर्मात्मीको सेतो आत्मा, पापात्मीको कालो आत्मा । समभाव शून्य । हर्नालिएको पशु, छेरौटी बिरामी । पागल बस्तीको बासिन्दा, पढाइसढाइ छैन, बाह्रमासे भयो, जिन्दगी बितायो । अर्काको होटेलमा पस्यो, जाँड धोक्यो, बर्बरायो, निरुद्देश्य । धर्म कुन चराको नाम हो, थाहा छैन । पापाचार बढ्दो छ । पैसाको निम्ति आफन्तीले चेलिबेटी बेच्दो छ, हाडफोरा बापती बढ्दो छ । अस्तु ।