सरकार परिवर्तन निम्ति भएको भित्री कथा यस्तो थियो

सरकार परिवर्तन निम्ति भएको भित्री कथा यस्तो थियो


काठमाडौं/ गत बिहीबार (पुस २४ गते) नेपाली राजनीतिले अप्रत्याशित रूपमा नयाँ मोड लियो । त्यस दिनसम्म न प्रधानमन्त्रीले मध्यावधि चुनावको सिफारिस गर्ने सम्भावना थियो न सरकारलाई नै कुनै सङ्कट पैदा भएको आभास जनमानसमा थियो । तर, वर्तमान सरकार ढाल्न काङ्ग्रेस सरकारमा सामेल हुनेबित्तिकै एमालेका एकाथरी नेता, राप्रपाका लोकेन्द्रबहादुर चन्दसहित केही सांसद र केही काङ्ग्रेसका सांसदहरू सक्रिय रहेका थिए । पुस २ गते प्रकाशित घटना र विचार साप्ताहिकले यससम्बन्धी समाचार सार्वजनिक गरेको थियो, तर त्यसबेला उक्त समाचारमाथि विश्वास गर्न धेरैलाई मुस्किल परिरहेको थियो । काङ्ग्रेस सत्तामा सहभागी हुनेबित्तिकै कृष्णप्रसाद भट्टराईले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएपछि राजनीतिक सतहमा काङ्ग्रेसको विवाद नै देखापरेको थियो, पर्दापछाडि भने समीकरण परिवर्तनका लागि जोडदार प्रयत्न भइरहेको कुरा कमैलाई मात्र जानकारी थियो ।

काङ्ग्रेस सत्तामा सहभागी हुनेबित्तिकै एमाले महासचिव माधवकुमार नेपालले लोकेन्द्रबहादुर चन्दसँग भेट गरी ‘अब कुनै पनि मूल्यमा वर्तमान सरकार ढाल्नुप¥यो’ भन्ने प्रस्ताव राख्नुभएको थियो । त्यसरी माधव नेपालले प्रस्ताव राख्नु अघिदेखि नै वामदेव गौतम र लोकेन्द्रबहादुर चन्दका बीच वर्तमान सरकार ढाल्नुपर्छ भन्ने विषयमा छलफल हुने गरेको थियो । एमाले महासचिवले तत्कालै सत्तामा जाने कुरामा तत्परता नदर्शाउनुभएकाले मात्र सरकार ढाल्ने योजनाले गति लिन सकेको थिएन । माधव नेपालको प्रस्ताव आएपछि लोकेन्द्रबहादुर चन्द आफ्ना पक्षमा बहुमत सांसद सङ्ख्या (राप्रपाका) जुटाउन सक्रिय रहन थाल्नुभएको थियो । तर, अनेकौँ प्रयत्न गर्दा पनि उहाँले दशजना सांसदलाई पनि आफ्नो पक्षमा लिन सकिरहनुभएको थिएन । पुसको दोस्रो साताको प्रारम्भमा नेपाली काङ्ग्रेसका सांसद दीपकजंग शाह, चक्रबहादुर शाही, ज्योतेन्द्रमोहन चौधरी, अनिश अन्सारी र राप्रपाको खोभारी रायसमेतले लोकेन्द्रबहादुर चन्दलाई भेट गरी आफूहरू वर्तमान सरकार ढाल्न तत्पर रहेको जानकारी दिएपछि समीकरण परिवर्तनको अभियानले केही गति लिन पुग्यो ।

त्यसपछि लोकेन्द्रबहादुर चन्द निकै सक्रिय रहन थाल्नुभयो । ठीक त्यसैबेला राप्रपाका राजीव पराजुली, प्रेमबहादुर भण्डारी, रामकृष्ण आचार्य आदिले ‘सांसद नारायणमान बिजुक्छे पनि सरकार ढाल्न सहमत हुने भएमा आफूहरू चन्दलाई साथ दिन आउने’ कुराको जानकारी गराए । त्यसलगत्तै लोकेन्द्रबहादुर चन्दले नारायणमान बिजुक्छेसँग भेट गरी वर्तमान सरकार ढाल्न सहकार्य गरौँ भन्ने प्रस्ताव राख्नुभयो । भनिन्छ, त्यसबेला बिजुक्छेले सरकार ढाल्न सघाउने मौखिक आश्वासन पनि दिनुभयो । चन्दले बिजुक्छेसँग भएको कुराकानीको विवरण राजीव पराजुलीहरूलाई दिनुभएपछि महेन्द्र राय र फत्तेसिंह थारू पनि सरकार ढल्छ भन्ने विश्वासका साथ चन्दपट्टि लाग्ने भए । त्यसैबीच शान्तिशमशेर राणालाई पनि चन्दले आफ्नो पक्षमा लिएको बताइन्छ । तर, पछि पशुपतिशमशेर राणाले शान्तिशमशेर नेपालगञ्ज गएको बेला त्यहीँ पुगी सम्झाइबुझाइ गर्नुभएपछि शान्तिशमशेरचाहिँ चन्दको पञ्जाबाट बाहिरिनुभएको जानकारी प्राप्त भएको छ ।

पुसका दिनहरू चाँडोचाँडो बित्दै थिए । यसबीचमा चन्द र एमालेबीच मध्यस्थताको भूमिका निर्वाह गर्न दरबारिया शक्तिका अलावा चाइनिज कूटनीतिज्ञहरू पनि सक्रिय हुन थालेका थिए र माधव नेपाल र चन्दबीच अनेकौँ चरणको वार्तालाप गराउन चाइनिजहरू सफल भइसकेका थिए । पुस १९ गते शनिबार भक्तपुरस्थित लोकेन्द्रबहादुर चन्दको घरमा चन्द र एमाले नेताहरू खड्ग ओली, राधाकृष्ण मैनाली, झलनाथ खनाल तथा देवीप्रसाद ओझाबीच कुराकानी भयो । उक्त कुराकानी भोलिपल्ट २० गते आइतबार समावेदन दिने निर्णयका साथ टुंगिएको थियो । बैठकको निर्णयअनुसार २० गते बिहान १० बजे एमाले र राप्रपाको चन्द खेमाका नेताहरू माइतीघरस्थित चन्दको पार्टी कार्यालयमा जम्मा हुने र ११ बजे राजदरबार गई समावेदन दर्ता गराउने भएको थियो । आइतबार राजदरबारका सम्पूर्ण कार्यालय बन्द रहने भए पनि ‘पश्चिम मूल ढोकाको दर्ता कार्यालयचाहिँ खुला रहने भएकाले त्यसै दिन समावेदन दिइने भएको थियो । तर त्यसदिन माधव नेपाल र खड्ग ओलीबाट ‘हाम्रो पार्टीमा केही अप्ठ्याराहरू निस्केको हुँदा समावेदन आज दर्ता नगरौँ भोलि (सोमबार) गरौँ’ भन्ने प्रस्ताव आएको हुँदा आइतबारको उक्त कार्यक्रम अकस्मात स्थगित हुन पुग्यो । सोमबार पनि केही हुन सकेन ।

मंगलबार राति १० बजे एमाले नेताहरू र लोकेन्द्रबहादुर चन्दका बीच पुनः कुराकानी भयो । त्यस बैठकले बुधबार (२३ गते) समावेदन दिने निर्णय गऱ्यो । त्यसै बैठकमा गृह र अर्थ मन्त्रालय एमालेलाई दिइने निर्णय पनि भएको थियो । उपप्रधानमन्त्री पदबारे भने बैठकमा कुनै कुरा भएको थिएन । तर, बुधबार एमाले महासचिव माधवकुमार नेपाल पार्टी कामको सिलसिलामा राजधानीबाट बाहिर जानुपर्ने भयो । नेपाल चितवनतर्फ लागेको खबर १० बजे मात्र चन्दले पाउनुभयो । चितवनस्थित एमाले कार्यालयमा चन्दले टेलिफोन सम्पर्क गर्दा नेपाल त्यहाँ आई नपुग्नुभएको भन्ने खबर दिइयो । त्यसपछि सोही दिन ११ः३० बजे जहाजद्वारा वामदेव गौतम चितवनतर्फ जानुभयो । चितवनमै माधव नेपाल र वामदेव गौतमबीच कुराकानी भएपछि हाललाई समावेदन नदिने भन्ने निधो भयो र सरकारमाथि उत्पन्न हुन लागेको सङ्कट तत्काललाई टऱ्यो ।

बुधबार बेलुका वामदेव गौतमलाई दशजना मन्त्रीले प्रधानमन्त्रीले भोलि मध्यावधि चुनावको सिफारिस गर्दै हुनुहुन्छ भन्ने खबर दिए । त्यसपछि वामदेव पुनः समावेदन दिनका लागि सक्रिय हुन थाल्नुभयो । बिहीबार बिहान झलनाथ खनाल, राधाकृष्ण मैनाली र लोकेन्द्रबहादुर चन्दबीच एक बैठक भयो । बैठकले त्यसै दिन समावेदन दिने निर्णय ग¥यो । तर, एमाले सांसदहरूको दस्तखत भएको कागज माधवकुमार नेपालसँग रहेका कारण तत्कालै समावेदन दिने भन्ने कुरा कार्यान्वयन हुन सकेन ।

बिहीबारै (२४ गते) प्रधानमन्त्री सूर्यबहादुर थापाले मध्यावधि चुनावको सिफारिस गर्नका लागि राजासँग भेट गर्न समय माग्नुभयो । प्रधानमन्त्रीले चुनावको सिफारिस गराउँदै छन् भन्ने कुराको पूर्वसङ्केत पाइसकेका राजाले सूर्यबहादुर थापालाई तत्कालै भेट गर्न नसकिने, जरुरी भए पनि साढे तीन बजेपछि मात्र भेट्न सकिने भन्ने खबर दिए । तैपनि प्रधानमन्त्री थापा मध्याह्नमै राजासँग भेटवार्ताका लागि पोखरातर्फ लाग्नुभयो ।

तर, चुनावको सिफारिस गरिएको प्रधानमन्त्रीका पत्र भने मन्त्रीद्वय विजयकुमार गच्छदार र सर्वेन्द्रनाथ शुक्लाले बिहान ११ः३० बजे नै राजदरबारमा दर्ता गराइसक्नुभएको थियो ।

भनिन्छ, राजा प्रधानमन्त्रीको पत्रभन्दा अगावै समावेदन दर्ता होस् भन्ने चाहनुहन्थ्यो, तर आवश्यक तयारी नभएको कारण राजाले जे चाहेका भए पनि चुनावको सिफारिसपत्र दर्ता भएको चार घन्टापछि मात्र समावेदन दर्ता हुन सक्यो र राजा र प्रधानमन्त्रीबीचको कुराकानी भने २४ गते ४ बजे मात्र हुन सकेको थियो । यसरी राजनीतिक नाटकको एउटा पाटो २४ गते सम्पन्न हुन पुगेको थियो । २४ गतेयता नाटकको अर्को पाटो मञ्चन भइरहेको छ, यसको कसरी पूर्णबिराम हुने हो सोको जानकारी पाउन अझै प्रतीक्षा गर्नुपर्ने भएको छ ।

(घटना र विचार साप्ताहिक, २०५४ माघ १ गते बुधबार)