राष्ट्रिय सभा निर्वाचन : एक बजेसम्म ८० प्रतिशत मतदान

राष्ट्रिय सभा निर्वाचन : एक बजेसम्म ८० प्रतिशत मतदान


राष्ट्रिय सभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएका छन् ।

मतदान केन्द्रमा पुगेर मतदाता बिहानै लाइनमा बसेका थिए । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदै छ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५५० प्रदेश सभा सदस्य तथा स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ मतदाता रहेका छन् । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुनेछ । आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्यालले बागमती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गरेका छन् । उक्त मतदान केन्द्रमा प्रदेश सभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ २३८ मतदाता कायम छन् ।
रासस