मुटु नभएका सम्पादक र घमण्ड भएको सत्ता

मुटु नभएका सम्पादक र घमण्ड भएको सत्ता


■ स्वयम्भुनाथ कार्की

जब–जब सत्ता आफूलाई सञ्चालन गर्ने विधिमा छिद्र खोज्न थाल्छ, त्यो बेला तानाशाहीले गर्भधारण गरेको हुन्छ । तानाशाहले राष्ट्रको हरेक कुरा आफ्नो हुकुमको अधीन चाहन्छ, अनि राष्ट्रको प्रमुख तत्व भनेको जनता हो । पहिले विधिमा छिद्र खोज्ने काम आफ्नो मर्जीअनुकूल विधिमा परिवर्तन गर्ने काममा बदलिन्छ । कुनै किराको लार्भाले जस्तो जति सक्यो उति शक्ति हसुर्न थाल्छ । अनि विस्तारै प्युपा बन्ने खोलको रूपमा उसलाई सीमित चाटुकारहरूले घेर्छन् । चाटुकारहरूको भजनले पौराणिक पात्र पौण्ड्रिक कृष्णले आफूलाई श्रीकृष्ण सम्झेजस्तो सर्वशक्तिमान सम्झन थाल्छ । अनि जनताको घरेलु व्यवहारमा, पारिवारिक अन्तरंग क्षणमा पनि निर्देशन दिन थाल्छ ।

प्रवचनजस्तो लाग्ने यो कुरा विषय प्रवेशभन्दा पहिले गर्न आवश्यक थियो । यो कुरा धेरैले धेरै किसिमले भनेका पनि हुन सक्छन्, वा कसैले नभनेका पनि हुन सक्छन् । कसैले भनेका छन् वा छैनन् त्यो थाहा भएन त्यसैले यो मेरो निजी चिन्तन हो भन्छु । यदि दाबी आएमा बिना कुनै बहस क्षमायाचनासहित पङ्क्तिकारले आफ्नो दाबी छोड्छ । कुरो हालसालै सरकारप्रमुखले सम्पादकहरूको मुटु खोजे अरे भन्ने खबरको हो । केही सम्पादकलाई यो प्रहार गतिलै लागेको देखियो । त्यसैले उनीहरू आफ्नो मुटु भएको देखाउने काममा लागे । तर, तितो कुरा के हो भने हालसालै नेकपाले केही पत्रकारहरूलाई दलीय कार्यक्रम आयोजन गरेर शपथ खुवायो । यस्ता मुटु देखाउने कति सम्पादकको जानकारीमै ती शपथ खाने पत्रकार उनीहरूसँग छन् ।

हुन त उहिले सानो हुँदा कसैले दुस्साहसी काम गरेको थाहा पाउँदा ‘कस्तो मुटु नै नभएको रहेछ’ भन्ने गरिन्थ्यो । तर, यहाँ मुटु नहुनुलाई ह्याउ नहुनुको अर्थमा प्रयोग भएको रहेछ । त्यो ह्याउ नभएको पनि चाटुकारहरूले कृष्ण घोषित गरेका पौण्ड्रिकलाई कृष्ण नभनेकोले । नभन्दै लगातार बन्दै गरेका नियम–कानुनहरूले सम्पादक वा पत्रकारहरूलाई कठिन नै भएको छ । पञ्चायतमा त राजगद्दीको र शासन व्यवस्थाको मात्र आलोचना गर्न नपाउने कानुन थियो । तर, त्यसै कानुनको आड लिएर सरकार, कर्मचारी अनि असरदार पञ्चहरूको विरोध गर्नेहरूले पनि कष्ट भोगेका थिए । सरकारका यस्ता कार्यहरू न्यायालयले निरस्त्र पारेका पनि उदाहरण छन् ।

सत्ताको घमण्डलाई ठीक स्थानमा राख्न पत्रकार, न्यायक्षेत्र, साहित्यकार, बुद्धिजीवी सबैले चाहे ह्याउ भन्नुस् चाहे मुटु भन्नुस्- राख्नैपर्छ । नराखेमा उन्मत्त सत्ताको पहिलो प्रहार यिनीहरूले नै खप्नुपर्छ, त्यो पनि दलीय भाग लगाइएका यिनै वर्गबाट ।

तर, अहिले त सरकारकै आलोचना गर्न नपाइने कानुन आएको छ । यसलाई निरस्त्र पार्नुपर्ने न्यायालयको बारेमा केही बोलिनँ, किनभने कुनै जमानामा ‘न्याय हराए गोर्खा जानु’ भन्ने परम्परा बोकेको नेपालको न्याय प्रणालीमा अझै म गर्व गर्न चाहन्छु । तर मुटु देखाउन अग्रसर हुने सम्पादकहरू सञ्चार क्षेत्रको नैतिक मान्यताभित्र रहेका छन् त ? व्यक्तिगत रूपमा जे–जस्तो राजनीतिक सिद्धान्त बोके पनि व्यावसायिक रूपमा काम गर्दा कुनै आग्रह–पूर्वाग्रह नराखेको भन्न सक्छन् त ? यस्तो अवस्थामा नेपालको सञ्चार जगत् पनि दलीय आस्थामा विभाजित भएको देखिन्छ । हुन त यो सञ्चार, न्याय, शिक्षा अनि साहित्य क्षेत्रमा लुकाइनुपर्ने कुरा हो । तर, गौरवपूर्ण कुराजस्तो गरेर दलीय आस्थामा बाँडिएको कुरा देखाइन्छ ।

त्यति मात्र होइन, आफूले आस्था गरेको दलको प्रतिनिधित्व गर्ने भ्रातृ संस्थाको रूपमा सक्रियता पनि हुन्छ । त्यसै आधारमा पेसागत सङ्गठनहरूमा निर्वाचन पनि लडिन्छ । यस्तोमा कुनै दलका नेताहरूले आफ्नो दलको वा विपक्षी दलको कार्यकर्ताजस्तो व्यवहार गरे भनेर गुनासो गर्न कहाँ पाइन्छ र ! म यहाँ यी क्षेत्रकाहरूले कुनै राजनीतिक आस्था राख्नै हुँदैन भन्दै छैन । त्यो भन्ने हैसियत पनि छैन मेरो । कसैको चरम बन्दना गर्न र कसैलाई भित्तामा पुऱ्याउने काम पनि आस्थाभित्रै पर्दो होला । म नाम लिन्नँ, तर कुनैबेलामा मेरा केही अभिव्यक्तिहरू एक सम्पादकले अस्वीकार गरेका थिए पत्रकार महासङ्घको आचारसंहिताले रोक्छ भनेर ।

त्यो अभिव्यक्ति अन्तरिम संविधानको मस्यौदाबारेमा थियो । त्यसले भविष्यमा पर्न सक्ने अवस्थाबारे थियो । अहिले मलाई सन्तोष छ कि मेरो त्यो आकलन ७० देखि ८० प्रतिशत सही भएको छ । आज यदि कुनै नेताले आफूलाई कार्यकर्ताजस्तो वा विरोधीजस्तो व्यवहार गर्छ भने त्यसको निमित्त आधार आफैंले दिएको हो । चाहे आफ्नो आत्माले नभनोस् दुष्परिणाम त भोग्नैपर्छ । सत्ताको घमण्डलाई ठीक स्थानमा राख्न पत्रकार, न्यायक्षेत्र, साहित्यकार, बुद्धिजीवी सबैले चाहे ह्याउ भन्नुस् चाहे मुटु भन्नुस्- राख्नैपर्छ । नराखेमा उन्मत्त सत्ताको पहिलो प्रहार यिनीहरूले नै खप्नुपर्छ, त्यो पनि दलीय भाग लगाइएका यिनै वर्गबाट । त्यसैले पहिले यी क्षेत्र कुनै दल वा सिद्धान्तका भन्दा राष्ट्रका बनुन् । अमूर्त जनता होइन, परिचय भएका नागरिकका बनुन् । नत्र कतिलाई मुटु छ भन्ने साबित गर्दै हिँड्ने ?