बुढानीलकण्ठ बैठकपछि महाधिवेशन फागुनमै गर्ने निर्णयमा पौडेल पक्ष सहमत

बुढानीलकण्ठ बैठकपछि महाधिवेशन फागुनमै गर्ने निर्णयमा पौडेल पक्ष सहमत


लामो समयदेखि गुटगत झगडामा अल्झिएका नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । कांग्रेसको अन्तरिक विवाद समाधानका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको हो ।

सभापति देउवाको निवास बूढानीकण्ठमा बुधबार साँझ (८ माघ) सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच पार्टीको महाधिवेशन, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल भएको र छलफल सकारात्मक रहेको उपसभापति विमलेन्द्र निधिलाई उद्धृत गर्दै राससले जनाएको छ ।

झण्डै तीन घण्टासम्म भएको बैठकमा विवाद समाधानका लागि यसअघि उपसभापति निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले गरेको गृहकार्य तथा छलफलका बारेमा समेत जानकारी गराइएको थियो । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तोकिएको मिति कायमै राख्ने तर अन्य तहका आगामी वर्ष मङ्सिरमा हुने अधिवेशन हिमाली क्षेत्रमा समयमै गर्न गाह्रो हुने देखिएपछि मिति सार्न सकिने बारेमा छलफल भएको जनाइएको छ ।

बैठकमा विधानका दफा निलम्वन, पार्टीका केन्द्रीय विभाग, नेपाल विद्यार्थी सङ्घ, तरुण दललगायत विषयमा समेत छलफल भएको थियो । बताइएअनुसार आगामी शुक्रबार बिहान ९ बजे बसेर टुङ्ग्याउनुपर्छ भन्नेमा कांग्रेस नेताहरु सहमत भएका छन् । सो बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि नेताहरु सिंह र सिटौला उपस्थित थिए ।

कांग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि सभापति देउवा र नेता पौडेल पक्षबीचमा विवाद देखिएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि ६ महिना थप गर्ने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने लगायतका निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध पौडेलपक्षीय नेताहरुले कार्यसमिति बैठक बहिष्कार गर्नेसम्मका दबाबमूलक रणनीति अख्तियार गरेका थिए ।