मनाङेविरुद्ध प्रहरीमा जाहेरी

मनाङेविरुद्ध प्रहरीमा जाहेरी


प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका छन् ।

पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङेले मंगलबार कार्यक्रमस्थलमै गुरुङलाई झपड हानेका थिए । आफूलाई मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै गुरुङले मनाङेमाथि कारबाहीको माग गर्दै बुधबार प्रहरीमा जाहेरी दिएका हुन् ।

मनाङेले आफ्नो जिल्ला मनाङबाट प्रतियोगितामा भाग लिन आएको टोलीलाई होटेलको व्यवस्थासँगै अभ्यासका लागि मैदान उपलब्ध नगराएको विषयमा गालीगलौज गर्दै मंगलबार गुरुङमाथि हातपात गरेका थिए ।

आफूमाथि प्रदेश सांसदसमेत रहेका मनाङेबाट भएको कुटपिट र गालीगलौजका सम्बन्धमा गुरुङले प्रहरीमा जाहेरी दर्ता गर्नुअघि पत्रकार सम्मेलन पनि गरेका थिए ।